पश्चिमा शक्तिले हिन्दू राष्ट्र घोषणा गर्न दिएनन्ः कमल थापा

काठमाण्डु टुडे २०७१ पुष ५ गते ९:२३ मा प्रकाशित

काठमाण्डु, ५ पुस– राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पश्चिमा राष्ट्रहरुले नेपाललाई हिन्दू राष्ट्र घोषणा हुन नदिएको भन्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न छाडेर तटस्थ बस्न आग्रह गरेका छन् ।

Kamal-Thapa
राप्रपा नेपालको पुस ९ गतेदेखि सुरु हुने रथ यात्राको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले हुन लागेको रथ यात्रा धार्मिक अभियान नभएर राजनीतिक आन्दोलन भएको स्पष्ट पारे ।
हिन्दू राष्ट्र सहितको संबैधानिक राजतन्त्रको एजेण्डामा पछि नहटेको भन्दै उनले यस अभियानमा अन्य राजनीतिक दलका नेताहरुपनि सहभागी भएकाले यसमा उनिहरुसँग सहकार्य गरिने बताए ।
कांग्रेसका खुमबहादुर खड्का तथा एमालेका मोदनाथ प्रश्रित तर्फ लक्षित गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले हिन्दू राष्ट्र नेपाल बन्न नदिन पश्चिमा शक्तिहरुले चलखेल गरेको भन्दै बारम्बार त्यसको आलोचना समेत गरे ।
पत्रकार सम्मेलनमा उनले हिन्दू राष्ट्र बनाउने कि नबनाउने भन्नेमा राजनीतिक दलहरु सहमत हुन नसकेमा त्यसलाई जनमत संग्रहमार्फत टुङगो लगाउनु पर्ने स्पष्ट पारे ।
‘यो मुलुकको गम्भिर मुद्दा हो यसमा राजनीतिक दलहरु बिच सहमती हुदैन भने यस विषयलाई जनमत संग्रहमा लैजानु पर्छ ।’, उनले भने ।
उनले अल्पसंख्यकलाई खुसी पार्ने बहानामा बहुसंख्यकलाई वेवास्ता गरिएको आरोप लगाए । ‘अल्पसंख्यकलाई खुशी पार्ने बहानामा बहुसंख्यकलाई बेवास्ता गरिएको छ’, थापाले भने, ‘यो निकै नै खतरनाक कुरा हो, यो जति बेलापनि विष्पोट हुनसक्छ ।’
पुस ९ गते झापाबाट सुरु हुने पार्टीको रथयात्रा १८ गने पशुपति मन्दीरमा आएर समापन हुने बताए । यात्रामा अध्यक्ष थापा सहित सात सय कार्यकर्ता सहभागी हुने उनले पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
यात्रा तराईका २२ र पहाडका ८ जिल्लामा पुगी त्यहाँबाट संकलन गरी ल्याएको जल पशुपति मन्दीरमा विसर्जन गरेसँगै यात्रा समापन गरिने पार्टीले जानाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us