
काठमाण्डु, ५ पुस– एकीकृत माओवादी नेता एवम् संवैधानिक– राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले संविधान छिटो बनाउने नाममा आन्नदोलनबाट प्राप्त उपलब्धी खोस्न नहुने बताएका छन् ।
राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र भक्तपुर अधिवेशनको शनिबार उदघाटन गर्दै उनले माघ ८ मै संविधान जारी गर्ने नाममा आफूहरु परिवर्तनका एजेण्डा संस्थागत नभए पनि संविधान ल्याउनुपर्छ भन्ने पक्षमा नहरेको बताए ।
‘माघ ८ वा फागुन ८ मा संविधान जारी गर्ने कुरा ठूलो होइन’, उनले भने, ‘तर छिटो गर्ने नाममा आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत नगर्ने कुरामा सहमत हुन सकिंदैन ।’
उनले गाउँघरमा ‘विवाह गर्ने हतपतमा केटा/केटी माग्न बिस्र्यो’ भनेजस्तै संविधान छिटो बनाउने हतपतमा एजेण्डा बिर्सन नमिल्ने तर्क गरे । ‘बाजा बजाउँदैमा विवाह हुँदैन’, उनले भने, ‘दुलहा–दुलही नै भएनन् भने बाजाको केही अर्थ हुँदैन ।’
भट्टराईले मुलुकमा अग्रगमन र पश्चगमन पक्षधर शक्तिबीच संघर्ष चलिरहेको भन्दै आफूहरु जसातसो एक थान संविधान ल्याउनुपर्छ भन्ने पक्षमा नरहेको प्रष्ट्याए ।