
काठमाण्डु, ५ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग ‘सम्बन्ध विच्छेद’ गरेर नयाँ पार्टी गठन गरेका नेक्रविक्रम चन्द ‘विप्लव’ सहति उनका नेता कार्यकर्ता प्रहरीको उच्च निगरानीमा छन् ।
विप्लवसहित खड्गबहादुर विक, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, उमा भुजेल, मोहन कार्की, उदयबहादुर चलाउने, झकबहादुर मल्ल, वसन्त श्रेष्ठसहितका नेतामाथि गृह मन्त्रालयको ठाडो निर्देशनमा प्रहरीले निगरानी बढाएको हो ।
उच्च प्रहरी श्रोतका अनुसार हरेक दिन बिहानदेखि रातिसम्मका उनीहरुका गतिविधिबारे गृहमा रिपोर्टिङ हुने गरेको छ ।
स्रोतका अनुसार गत मंसिर १० र ११ गते काठमाण्डुमा सम्पन्न दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं शिखर सम्मेलनको केही दिनअघि उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले विप्लवलाई गिरफ्तार गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिइसकेका थिए ।
तर गौतमले एकपटक कुनै ‘शक्ति केन्द्र’ मा सल्लाहका लागि टेलिफोन गरे । उताबाट विप्लवलाई पक्रँदा परिस्थिति उत्तेजित हुने र उनी उपेन्द्र यादवकै शैलीमा रातारात हिरो हुने भन्दै पक्राउ नगर्न भनियो । त्यसलाई बामदेवले पनि ठीकै ठाने र विप्लव गिरफ्तारीबाट जोगिए ।
आफूलाई पक्रन खोजिएको विषयमा जानकारी रहेको विप्लव स्वयम् स्वीकार्छन् । ‘गिरफ्तारीबारे हामीले पनि विभिन्न च्यानलबाट सुनेका हौं’, नयाँ पत्रिका दैनिकका लागि नेत्र पन्थीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘राज्यमा किन यत्रो तरंग गयो थाहा भएन ।’
अन्तर्वार्ताका क्रममा उनले कसैले आफूहरुलाई दमन गर्ने सोच राखेको भए पनि चिन्ता नरहेको उल्लेख गरेका छन् । आफूहरुको लडाइँ सेना प्रहरीसँग नभएर बेइमान, भ्रष्ट र दलालहरुसँग भन्दै उनले सहयोगका लागि सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
विप्लव समूहले गत कात्तिक २६ र २७ गते कपिलवस्तुमा भेला गरी एकीकृत क्रान्तिको कार्यदिशा अघि सारेको थियो ।
लगत्तै बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष मोहन वैद्यले अराजकहरुले पार्टी छाडेर गए फरक नपर्ने बताएपछि उनले सम्बन्ध विच्छेदको पत्र बुझाए ।
मंसिर पहिलो साता चितवनको एक गाउँमा बसेको बैठकले विप्लवकै संयोजकत्वमा नयाँ पार्टी घोषणा गर्यो ।