काठमाण्डु, ५ पुस– पूर्वप्रधानमन्त्री तथा एनेकपा माओवादीका नेता, बाबुराम भट्टराईले सामाजिक सञ्जालमा फेसबुक र ट्वीटरको प्रयोग गर्न थालेको केही बर्ष भैसक्यो । फेसबुक र ट्वीटर दुबैमा उनलाई पछ्याउनेहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईका कतिपय स्टाटस र ट्वीटमा लेखिएका टिप्पणीहरु बहस तथा आलोचनाको बिषयसमेत बन्ने गर्दछन् । आफ्नो रुचीबमोजिम अध्ययनका लागि उनले ट्वीटरमा केही व्यक्ति, संस्था, प्रकाशनलाई फलो पनि गरेका छन् ।
‘विश्व इतिहासको पछिल्लो चरण भनेको विज्ञान–प्रविधि र सूचना प्रविधिमा विकास र विस्तारको युग हो । त्यसैले हामी माक्र्सवादीहरु वैज्ञानिक ऐतिहासिक भौतिकवादी सिद्धान्तमा विश्वास गर्ने भएको हुनाले विज्ञानका पछिल्ला विकास र प्रयोगहरुलाई जीवनमा आत्मसात गर्दै सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्छौं’, उनले भने ।
उनले त्यही क्रममा आफुले सूचना–प्रविधिमा र सामाजिक सञ्जालको विकासमा जोडिएर विश्वसँग आफूलाई र आफ्नो ज्ञानलाई नविनीकरण गर्ने र सामाजिक संवाद गर्ने माध्यमको रुपमा फेसबुक र ट्वीटरलाई प्रयोग गरेको बताए ।
ज्ञानविज्ञानसँग साक्षात्कार गरिराख्ने र पछिल्ला गतिविधिबारे जानकारी लिने उनको रुचीकै कारणले उनी सामाजिक सञ्जालमा जोडिएका हुन् । जनसमुदायको, खासगरी युवा पंक्ति, धारणा बुझ्नको निम्ति पनि सामाजिक सञ्जालको प्रयोग उनी महत्वपूर्ण ठान्छन् ।
उनी भन्छन्, ‘सामाजिक सञ्जालमा सहभागी हुनुको मुख्य तात्पर्यचाहिँ ज्ञान, विज्ञानका पछिल्ला आविष्कारसँग परिचित हुने, अन्तर्राष्ट्रिय गतिविधिसँग आफ्नो ज्ञानलाई नविनीकरण गर्ने र आम जनसमुदायसँग नजिकबाट जोडिने हो ।’
प्रयोगको अनुभव
फेसबुकमा विषयबस्तुका बारेमा अलि बढि लेख्न मिल्ने, फोटो राख्न मिल्ने हुनाले यसका प्रयोगकर्ता नेपालमा ट्वीटरको तुलनामा बढी छन्, उनको फेसबुक पेज लाइक गर्नेको संख्या पनि धेरै छ ।
प्रयोगका हिसाबले एक सय ४० अक्षरको सीमितताले गर्दा पढ्न, ट्वीट गर्न र चलाउन सजिलो हुने भट्टराईको अनुभव छ । फलोअरहरुले उनका स्टाटस, ट्वीटमाथि धेरै टिप्पणि गर्ने गरेका छन् ।
उनी भन्छन्, ‘मैले समय अभावका कारणले सबै टिप्पणिको प्रतिटिप्पणि गर्न, जवाफ दिन त भ्याउँदिन तर मैले सरसर्ती हेर्ने कोशिस गर्छु । पछिल्ला घटनाक्रमसँग, खासगरी ज्ञान र विज्ञानका पछिल्ला आविष्कारसँग मेरो बढि रुची छ र मैले सामाजिक सञ्जालमार्फत यी विषयमा साक्षात्कार गर्ने अवसर पाएको छु ।’

‘अन्तरिक्ष विज्ञान, जीव विज्ञान, न्युरो साइन्सलगायत विज्ञानसँग सम्बन्धित संस्था, व्यक्तित्व, प्रकाशनसँग ट्वीटरमा आफूलाई बढि जोड्ने गरेको छु । प्रतिष्ठित वैज्ञानिकहरु, चिन्तकहरुलाई पनि मैले फलो गरेको छु । त्यस्तै माक्र्सवादी विचार, साहित्य, चिन्तक, प्रकाशनहरुलाई पनि मैले फलो गर्ने गरेको छु ।’
भट्टराई थप्छन्, ‘राजनीतिक व्यक्ति हुनुको नाताले विभिन्न देशका राजनीतिक नेताहरु र खासगरी दक्षिण एशियाका नेताहरुलाई मैले फलो गर्ने गर्छु’,
आफूले फलो गरेकाहरुका बारेमा उनी भन्छन्, ‘समाचारको मुख्य स्रोतका रुपमा मिडिया र मिडियासँग जोडिएका व्यक्तिहरुलाई पनि मैले फलो गरेको छु । साथसाथै मेरो रुचीचाहिँ एउटै विषयको मात्रै भन्दा पनि धेरै विषयमा ज्ञान राख्नुपर्छ भन्नेमा पनि छ त्यसैले मैले खेलकुद, कला, साहित्य क्षेत्रका व्यक्तिहरुलाई पनि मैले फलो गर्ने गरेको छु ।’
भट्टराईले राजनीतिक व्यक्तिकारुपमा अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि दक्षिण एशियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेलगायतलाई फलो गरेका छन् ।
ट्वीटर प्रयोग गर्ने केही नेपाली नेताहरुलाई पनि उनले फलो गरेका छन् । त्यस्तै उद्योग–व्यवसाय क्षेत्रका विनोद चौधरीलगायत, नेपाली सञ्चार क्षेत्रका नेतृत्व तहमा रहेकाहरु सुधीर शर्मा, किशोर नेपाल, गुणराज लुईंटेल, अखिलेश उपाध्याय, अमित ढकाललगायत, लेखक साहित्यकारहरु खगेन्द्र संग्रौला, झलक सुवेदीलगायतलाई पनि भट्टराईले फलो गरेका छन् ।
उनले नेपाली कलाक्षेत्रका अनुप बराल, मनोज गजुरेल, निश्चल बस्नेतलगायतलाई फलो गरेका छन् । त्यसैगरी खेलकुद क्षेत्रका युवराज लामा, पारस खड्का, सुवास खकुरेललगायतलाई पनि फलो गरेका छन् । विज्ञान, अर्थ–राजनीति, सूचना तथा सञ्चार क्षेत्रका संस्था, व्यक्ति, प्रकाशनहरुलाई पनि उनले फलो गरेका छन् ।
सामाजिक सञ्जालमा हुने आलोचनाप्रतिको दृष्टिकोण
‘सामाजिक सञ्जाल प्रयोग गर्न मसँग धेरै समय त हुँदैन । तर विहान बेलुका केही समय निकालेर मैले सामाजिक सञ्जाल हेर्ने गर्छु’, उनले भने, ‘त्यहाँ आएका टिप्पणिहरुले जनताको ‘मुड’ बुझ्न, एउटै विषयबस्तुलाई कस्ता कोणहरुबाट हेर्न सकिने रहेछ, मानिसहरुले कसरी ग्रहण गर्दा रहेछन् भन्ने बुझ्न मद्दत गरेको छ ।’
सामाजिक सञ्जालमा उनले कहिलेकाहिँ निकै आलोचनाको सामना पनि गर्नुपरेको छ । आफुलाई हुने आलोचना र टिप्पणीबारे भट्टराइले भने, ‘यो मध्यम वर्ग, निम्न–मध्यम वर्गका युवाहरुमा पहिले यसले प्रवेश पाउँछ । त्यस तहमा अधिकांश मानिसहरुको सोंच र चिन्तनचाहिँ अलिकति अराजकतावादी खालको स्वतः नै हुन्छ । त्यसैले उनीहरुको नियतमा कुनै प्रश्न गर्नुपर्ने ठाउँ नहुँदा–नहुँदै पनि स्वाभावैले युवाहरु अलिकति अराजक, विद्रोही हुन्छन् । उनीहरुको अराजकता, विद्रोहीपन, मूल्यमान्यतामा नअडिने र अरुको आलोचक बन्ने स्वाभाविक प्रवृत्ति पनि हुन्छ । त्यसकारणले सामाजिक सञ्जालमा पनि त्यसखाले टिप्पणि आएको बुझ्नुपर्ने हुन्छ ।’
नेपालको सन्दर्भमा पछिल्लो चरणमा राजनीतिक परिवर्तनको प्रक्रिया र संक्रमणकाल जसरी लम्बियो र आर्थिक, सामाजिक, साँस्कृतिक परिवर्तन र रुपान्तरणको एजेण्डा पछाडि पर्दै गयो । त्यसले गर्दा गरिबी, बेरोजगारीबाट आक्रान्त भएका युवाहरु चाहिँ अलिकति बढि निराश हुने र सबैसँग आक्रोशित हुने प्रवृत्ति बढेको उनको ठम्याँई छ ।
उनी भन्छन्, ‘राजनीतिक नेतृत्व भनेका सबै राम्रा वा सबै नराम्रा भन्ने हुँदैन । त्यसैले अलिकति बैज्ञानिक सोंच राखेर सबै ठाउँमा ठीक र बेठीक हुन्छ भन्ने चिन्तनको विकास हुन नसक्दा एउटा पंक्तिले सबैलाई बेठीक ठान्ने र सबैलाई एउटै डालोमा हालेर मिल्काउने खालको चिन्तन आएको हो ।’ उनले भने,‘सामाजिक सञ्जाल विस्तार हुँदै जाने क्रममा यो प्रवृत्ति कम हुँदै जान्छ, सच्चिदै जान्छ र समाजका अधिकांश मान्छे वैज्ञानिक चिन्तन राख्ने राम्रा मान्छे हुन्छन् भन्ने स्वीकार्नुपर्ने हुन्छ ।’
फलोअरलाई धन्यवाद र सुझाव
शुक्रबारसम्म उनको फेसबुक पेज लाइक गर्नेको संख्या सात लाख ४८ हजार छ सय ९४ जना र ट्वीटरमा उनलाई फलो गर्नेको संख्या एक लाख १४ हजार दुई सय ५२ जना छ ।
आफ्ना फलोअरहरुलाई भट्टराईले धन्यवाद दिदै भने, ‘म उहाँहरु सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँहरुले रुचीपूर्वक दुईवटै सामाजिक सञ्जालमा मलाई फलो गर्ने र सुझाव दिने गर्नुभएको छ । त्यसलाई मैले महत्वपूर्ण मार्गनिर्देशनका रुपमा लिएको छु ।’
उनले सामाजिक सञ्जालमा हुने कतिपय आलोचनात्मक टिप्पणिहरुलाई अन्यथा नमानेको प्रस्ष्टीकरण दिए ।