
काठमाण्डु, ४ पुस– सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थीले आफूलाई विश्वका विभिन्न मुलुकहरुबाट १० हजारभन्दा बढी निमन्त्रण आइसकेको भए पनि आफूले ती सबैलाई छाडेर पहिलोपटक नेपाल भ्रमण आएको बताएका छन् ।
‘नोबेल पुरस्कार पाएदेखि अहिलेसम्म मलाई विभिन्न देशहरुबाट झन्डै १० हजारभन्दा धेरै निमन्त्रणा आइसकेका छन् । तर, मैले मेरो पहिलो भ्रमण नेपालबाट नै सुरु गर्ने सोचेको थिएँ, काठमाण्डुको एपेक्स कलेजमा बालबालिकासँग भेट्ने क्रममा उनले भने, ‘आज म नेपाल आउन पाउँदा अत्यन्त खुसी छु ।’
उनले नेपाली बालबालिकालाई करुणाले भरिएका आकाशका ताराको संज्ञा दिए । उनले भने, ‘नेपाल टेकेदेखि नै बालबालिकाहरुको रुपमा मलाई करुणा र स्नेहले भरिएका आकाशका ताराहरुले स्वागत गरेजस्तो लागेको छ ।’
सत्यार्थीले नेपालको लुम्बिनीमा जन्मिएको एउटा बालकमा भएको करुणाले विश्वभर ऊ बुद्धका नामले चिनिन सक्छ भने यहाँ भएका लाखौं बालबालिकाको करुणालाई विश्वव्यापीकरण गर्न सकेमा लाखौं बुद्ध जन्मिने सम्भावना रहेको बताए । उनले बालबालिकामा भएको करुणालाई सबैले जोगाउनु पर्नेसमेत बताए ।
नेपालबाट विभिन्न तवरले बेचिने महिला तथा बालबालिकाहरुलाई आफूले उद्धार गरी तिनका आफ्न्तसँग भेट गराएको क्षण ती आफन्तहरुको आँखाबाट झर्ने खुसीका आसु देखेर परमेश्वरले आफूलाई आशिर्वाद दिएको ठान्ने भन्दै उनले आफूले कयौं नेपाली दिदीबहिनी, छोरीहरुको उद्धार गरेको स्मरण गर्दै आउने दिनहरुमा यसको अन्त्य गरी कसैको उद्धार गर्न नपर्ने विश्वास व्यक्त गरे ।
बालबालिकालाई सम्बोधन गर्दै उनले आफूले पाएको नोबेल शान्ति पुरस्कार आफूले मात्र नभई विश्वका लाखौं बालबालिकाले पाएको बताए । ‘मलाई सबैले भन्ने गर्दछन् नोबेल पुरस्कारका लागि तपाईलाई बधाइ छ, यसमा मैले बारम्बार भन्ने गरेको छु, यो पुरस्कार मेरो मात्र होइन, यो विश्वका लाखौं बालबालिकाले पाएको पुरस्कार हो ।’
सत्यार्थी बालबालिकाको क्षेत्रमा तथा महिला बेचबिखनलाई रोक्ने अभियानका अभियानकर्ता हुन् । उनले भारत–नेपाल हुदै विश्वका विभिन्न मुलुकहरुमा हुने मानव बेचविखनका विरुद्ध अभियान चलाउँछन् । उनको ‘बचपन बचाओ अभियान’ र ‘चाइल्ड लेबरहुड’ भन्ने यात्रा अत्यन्त सफल अभियानमध्येको एक हो ।
उनले मानव बेचबिखन, बाल हिंसा तथा बालबालिकालाई श्रममा लगाउने काम अझै जारी रहेको भन्दै यसको उन्मूलन गर्ने नैतिक जिम्मेवारी पनि तिनै बालबालिकाको भएको बताए । जसले यो पुरस्कार साझा रुपमा पाएका छन् । ‘यो पुरस्कार मेरो मात्र हुनै सक्दैन । त्यसैले, यो उन्मूलनको जिम्मेवारी पनि मेरो मात्र हुँदैन, यो साझा कर्म हो जसबाट हामी अगाडि बढ्ने छौं’, उनले भने ।
उनले बारम्बार नोबेल शान्ति पुरस्कार आफूले नभई अफ्रिका, पाकिस्तानदेखि नेपालका लाखौं बालबालिकाले पाएको भन्दै सबैलाई मानव बेचबिखनविरुद्ध अगाडि बढ्न आग्रह गरे । ‘बालमजदुरी, अशिक्षा, बालबालिका माथि हुने हिंसा अन्त्य गर्ने जिम्मेवारी तपाईं हाम्रो सबैको हो’, उनले भने ।