
इलाम, २९ मंसिर–बङ्गुर छोए जात जान्छ, छेउछाउ पनि जानु हुँदैन्, भन्ने ब्राह्मण समुदायमा व्याप्त पुरातन सोचलाई चुनौती दिँदै दानाबारीका ब्राह्मण दम्पती बङ्गुरपालनमा लागेका छन् ।
दानाबारी–१ का हरिचरण घिमिरे र होमादेवीले बङ्गुरपालन व्यवसाय थालेका हुन् ।
घिमिरे दम्पतीले ‘सनराइज बङ्गुर फार्म’ दर्ता गरेर सिङ्गो ब्राह्मण जातिलाइनै चुनौती दिँदै यो व्यवसाय थालेको बताइएको छ ।
सनराइज बैंकबाट पाँच लाख ऋण लिएर व्यवसाय सुरू गरेको बताउँदै हरिचरणले भने ‘बङ्गुर पालेको एक वर्षमै ऋण तिरेर पनि नाफा कमाउने सोच बनाएको छु ।’
उनीहरुले सुरू गरेको बङ्गुरपालन व्यवसाय अरूका लागि पनि उदाहरणीय बनेको छ । घिमिरे दम्पतीको बङ्गुर फार्ममा १६ वटा स्थानीय र १० वटा उन्नत जातका बङ्गुर छन् । पत्रपत्रिकामा ब्राह्मण समुदायले समेत यो व्यवसाय गरेको समाचार पढेपछि आफूले पनि व्यवसाय सुरू गरेको हरिचरणले बताए ।
सहरी इलाकामा जातभातको खासै प्रचलन नरहेपनि ग्रामीण भेगमा भने जातअनुसार व्यवसाय गर्नुपर्ने धारणा अझै पनि विद्यमान छ । बङ्गुरपालन व्यवसाय थाल्दा जात गयो भन्नेहरू अहिले बङ्गुरपालन फस्टाएको देखेर हेर्नसमेत आउने गरेको होमादेवीले बताए । बङ्गुर पालनबाट घिमिरे दम्पतीले अहिले मासिक रु ३० हजार भन्दा बढी कमाइरहेका छन् । रासस