
काठमाण्डु, २८ मंसिर– प्रहरी मेट्रो कन्ट्रोलको १०० मा अचानक फोन आयो । प्रहरी जवानले उठाए र भने, ‘हलो.. हलो..’ उताबाट भने कसैको स्पष्ट आवाज सुनिएन ।
फोन राखेर अर्को फोन उठाउन नपाउँदै फेरि घण्टी बज्यो । प्रहरी जवानले फोन फेरि उठाए तर यस पटक पनि कोही बोलेको सुनिएन । बोल्नुको सट्टा उल्टै महिला हाँसेको सुनियो ।
लामो हाँसोपछि फोन कट्यो । यो फोन राख्न नपाउदै अर्को फोनमा पनि त्यस्तै घटना दोहरियो । यो फोन भने अगि गरेको व्यक्तिको भन्दा फरक थियो । फोनमा एउटा धोद्रो स्वरमा फोन गर्ने व्यक्तिलाई जवानले ‘प्रहरी मेट्रो कन्ट्रोल’ भन्न नपाउदै अपशब्द प्रयोग गर्दै चिच्याउन थाल्यो ।
यस्ता फोनहरु कुनै सामान्य फोनमा नभई प्रहरीका अधिकारी तथा मेट्रो कन्ट्रोलको जनताका सेवाका लागि भनी राखिएको १०० नम्बरको फोन आएका कलहरु हुन् । सामान्यतया अत्यन्त व्यस्त हुने यो फोनमा पनि विभिन्न प्रकारका फोन आउनाले प्रहरी हिजो आज हैरान भएको छ ।
पहिले प्रहरीले कुनै कारणबस त्यस्तो हुन गएको होला भनी गम्भिरतापूर्वक नलिएको फोन र व्लफ कलले प्रहरीलाई नै हैरान पार्न थाले पछि प्रहरीले त्यस्ता व्यक्तिको पहिचान गरि कारवाही अगाडी बढाएको छ ।
कहाँसम्म भने पहिला आफ्नो मोवाइल नम्बर सार्वजनीक गर्ने प्रहरी अधिकारी अहिले कार्यालयको नम्बर दिदा पनि त्यसबाट छुटकारा पाउन सकेका छैनन् । यस्ता फोनहरु बिशेष गरेर रातीको समयमा आउने गरेको प्रहरी अधिकारीको भनाइ छ । प्रहरीका अनुसार यस्ता फोन गर्नेहरुमा महिला, मापसे गरेका पुरुष तथा बालबालिका पनि रहेका छन् ।
प्रहरीलाई मिसकल गरेर हैरान पार्नेहरुको संख्यामा पनि कमी रहेको छैन । प्रहरीले यसरी फोन गर्नेहरुको लगत राख्न थालेको चार महिना पछि त्यसको लगत सार्वजनिक गरेको छ । प्रहरी स्रोतका अनुसार यस्ता फोन गर्नेहरुमा बिबाहपश्चात पतिसँग बिछोड भएका महिला तथा पत्नी बियोगमा रहेकाहरुले फोन गरेर प्रहरीलाई गुनासो सुनाउने गरेका छन् ।
प्रहरीलाई यसरी मिसकल, व्लफ कल, गालिगलौज तथा जिस्काउनेहरुको संख्या श्रावण महिनामा १२ हजार ६३ रहेकोमा भाद्र महिनामा १२ हजार एक सय ६३ पुगेको थियो । असोज महिनामा प्रहरीलाई यसरी दुःख दिनेको संख्या अचानक झण्डै १६ हजार पुगेपछि प्रहरीलाई गम्भिर हुन कर लाग्यो र अनुसन्धान अगाडी बढाउन पर्ने भयो ।
त्यसपछिका महिनाहरुमा प्रहरीले केही ब्यक्तिलाई प्रक्राउ पनि ग¥यो भने केहीलाई हिदायत दिएर कागज गरि छाड्यो । अनि यसरी कल गर्नेहरुको संख्या कार्तिकमा १२ हजार पुग्यो र मंसिर महिनामा यसको संख्या घटेर ११ हजार एक सय छ पुगेको छ ।
तर पनि यसबाट पुर्ण छुटकारा भने पाई नसकिएको प्रहरी अधिकारी बताउँछन् । प्रहरीले यसरी कल गर्नेहरुमा एक आइतबार बिहान ९ बजे देखि २ बजे सम्ममात्र ४० नबोल्ने कल र ३८ मिसकल, ११ केटीको र ४ बच्चाको फोन आएको जनाएको छ ।
यसै फोन गरेर प्रहरीलाई हैरान पार्ने तथा काममा व्यवधान उत्पन्न गराएको भन्दै आइतबार भारत उत्तर प्रदेश बैशाली लालगञ्जका ३५ बर्षिया अनिल भनिने सन्देश रायलाई जैसीदेवलबाट पक्राउ गरेको छ ।