ल हेर्नुस् पानी घट्टको कमाल !

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ९:१२ मा प्रकाशित

म्याग्दी, २८ मंसिर–म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दाना गाविसमा एउटै कुलोको पानी प्रयोग गरी आठवटा पानीघट्ट सञ्चालन गरिएको छ ।

images

करिब ६०० मिटरको दूरीमा आठवटा पानीघट्ट सञ्चालन गरेका दानावासीले अन्न पिँध्ने काममा घट्टको प्रयोग गर्ने गरेका छन् । सिँचाइ कुलोको पानी प्रयोग गरेर पानीघट्ट सञ्चालनमा आएका हुन् ।

स्थानीयवासीले गहुँ, मकै, कोदोलगायत अन्न पिँध्न पानीघट्टको प्रयोग गर्ने गरेका स्थानीयवासी बेलबहादुर पुर्जाले बताए ।

पानीघट्ट सञ्चालन गरेर त्यहाँका आठ घर परिवारले आम्दानी पनि गरिरहेका छन् ।

पाँच पाथी अन्न पिँधेबापत घट्ट सञ्चालकलाई तीन माना अन्न तिर्ने गरेको घट्टमा अन्न पिँध्दै गरेकी स्थानीयवासी हेमा नेपालीले बताइन् । एउटा घट्टले कम्तीमा दैनिक चार मुरीसम्म अन्न पिँध्न सक्छ ।

“घट्टमा पिँधेको अन्नका परिकार लामो समयसम्म टिक्ने, स्वादिलो र स्वास्थ्यवद्र्धक हुने हुन्छ,” पुर्जाले पानीघट्ट मात्र प्रयोग गर्नुका कारणबारे प्रष्ट पारिन ।

गहुँ, मकै, कोदो, जौ, फापरबाहेक अन्य अन्न कमै उत्पादन हुने सो गाउँमा विद्युत् र पानीको सुविधा भए पनि घट्टको लोकप्रियताका कारण पानी मिल खुलेका छैनन् ।

जिल्लाको पर्यटकीय क्षेत्रमा पर्ने सो ठाउँका अधिकांश होटलमा पनि घट्टबाट पिँधिएको अन्नका परिकार उपलब्ध हुने गरेको रुप्से युवा क्लबका सचिव गङ्गा पुनले बताए ।

त्यहाँका करिब २५ वटा होटलमा स्थानीय घट्टमा पिँधेको अन्नको ढिँडो, आटो, रोटीलगायत परिकार उपभोग गर्न सकिन्छ ।

पर्यटकले घट्टमा पिँधेको अन्न निकै रुचाउने गरेको होटल व्यवसायीले बताएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us