काठमाण्डु,२८ मंसिर– राप्रपा नेपालले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको छ ।
आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले निर्धारित समयभित्र संविधान निर्माण हुनुपर्ने र त्यो संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र सुनिश्चित गर्नुपर्ने अडान राखेको छ ।
राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन, राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीको तस्वीर अंकित गर्ने व्यवस्थाको माग राख्दै आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र दिदै अध्यक्ष थापाले सहमति निर्माणको क्रममा संविधानसभाको चौथो राजनीतिक शक्तिलाई निषेध गरिएको भन्दै आपत्ति जनाएका थिए ।
प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले मुलुक वास्तवमै गम्भीर मोडमा रहेकाले सकेसम्म सहमतिबाटै संविधान निर्माण गर्ने, सहमतिका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने, नभए विधि र प्रक्रियाबाट भएपनि माघ ८ गतेभित्र संविधान जारी गर्न आफु प्रतिबद्ध रहेकाले आफुलाई सहयोग गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले राप्रपा नेपाललाई निषेध गर्ने आफ्नो नियत र मनसाय नरहेकाले सबैको सल्लाह अनुसार आफु अघि बढ्ने र बढिरहने धारणा व्यक्त गरेको ज्ञापनपत्र बुझाएपिछ सहप्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भेटमा अध्यक्ष थापासहित उपाध्यक्षद्वय टंक ढकाल, निरञ्जन थापा, महामन्त्री चन्द्रबहादुर गुरुङ्ग र सहप्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए ।