
काठमाण्डु, २८ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले बेलायती राजदूत एन्डी स्पाक्र्सले संविधानसभामा धर्म परिवर्तन गराउन पाउने अधिकार सुनिश्चित गर्नु पर्ने भनी दिएको अभिब्यक्तिप्रति आपत्ति जनाएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन पत्र बुझदै कोइरालाले राजदूतलाई सचेत गराउने समेत बताएका हुन् ।
‘बेलायती राजदुतको भनाइ अत्यन्त आपत्तिजनक रहेको उल्लेख गर्नु हुँदै प्रधानमन्त्री कोइरालाले यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने र आवश्यक परे राजदुतलाई बोलाएरै भएपनि संवेदनशील विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने प्रतिनिधिमण्डललाई बिश्वास दिलाउनु भयो,’ ज्ञापनपत्र बुझाएपछि राप्रपा नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बेलायती राजदुत स्पाक्र्सले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा सभासदहरुलाई पत्र लेखी संविधानसभाले बनाउने संविधानमा धर्म परिवर्तन गराउन पाउने कुरालाई कानुनमै उल्लेख गर्न सुझाएका थिए ।
उनको अभिब्यक्तिको विरोध गर्दै शनिवार दिउँसो हिन्दुवादीहरुको संगठन ‘संगठित हिन्दु युवा संयोजन अभियान’ले लैनचौर स्थित बेलायती राजदुतावास अगाडी प्रर्दशन गरेको थियो ।