क्षयरोगको प्रत्यक्ष निगरानीमा उपचार

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ८:५५ मा प्रकाशित

पाल्पा, २७ मंसिर– दुई हप्ता वा सोभन्दा बढी समयदेखि लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घट्नु, कमजोर हँुदै जानु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु र खकारमा रगत देखिनु फोक्सोमा हुने क्षयरोगका लक्षणहरू हुन सक्छन् ।

Dost
यी लक्षण देखिए तापनि नियमित रुपमा क्षयरोगका बिरामीले छ देखि आठ महिनासम्म औषधि सेवन गरेको अवस्थामा रोग निको हुन्छ ।

पाल्पा जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा एक सय ५५ जना महिला र दुई सय ६७ जना पुरुष गरी चार सय २२ जना क्षयरोगका रोगी रहेका छन् ।

उनीहरूले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयम्सेवीकाको प्रत्यक्ष निगरानीमा औषधि उपचार गराई रहेका छन् ।

गत आर्थिक वर्षमा जिल्लामा एक सय ५६ जना पुरुष र दुई सय ८७ जना महिला गरी चार सय ४३ जना क्षयरोगीमध्ये नियमित औषधिको सेवनका कारण झन्डै ९५ प्रतिशत रोगी निको भएको जनस्वास्थ्य अधिकृत विश्वनाथ न्यौपाने बताए ।

फोक्सोको क्षयरोग पत्ता लगाउन सही र भरपर्दो उपाय माइक्रोस्कोपबाट खकार परीक्षण गर्नुपर्ने हुन्छ । यसरी खकार परीक्षण सेवा नेपालभरिका उपचार केन्द्रमा निःशुल्क हुने भएका कारण रोगीको सङ्ख्यामा कमी देखिएको न्यौपानेले बताए ।

उपचारका अवधिमा रोगीले नियमित रुपले तोकिएको औषधि पूरा मात्रामा उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा खानुपर्छ र तोकिएको समयमा खकार जाँच पनि गराउन आवश्यक हुन्छ ।

नियमित उपचार गरेमा क्षयरोग पूर्ण निको हुन्छ । यदी रोगीले बीचैमा औषधिको सेवन गर्न छाडेमा रोग निको हुने सट्टामा अरु सिकिस्त हँुदै जान्छन् र निको नहुनेखालको जीर्ण क्षयरोग पनि हुन सक्ने विज्ञहरूको भनाइ छ ।

क्षयरोग सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा खकारमा भएका क्षयरोगका कीटाणु थुकका छिटासँग हावामा निस्कन्छन् । निरोगी मानिसमा श्वासप्रश्वासका माध्यमबाट फोक्सोभित्र प्रवेश गर्दछन्  र यो रोग लाग्छ तर क्षयरोगका कीटाणु कुनै स्वस्थ व्यक्तिको शरीरमा पुग्दैमा रोग लागिहाल्छ भन्ने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us