गृहणीको गहना लुटेर डान्सबारका युवतीलाई उपहार

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते २:२६ मा प्रकाशित

dance girlकाठमाण्डु, २७ मंसिर–राजधानीमा चोरी आतंक मच्चाउँदै आएका अधिकांश चोर पक्राउ परेका छन् ।

राजधानीमा चोरीलाई नै पेशा बनाउँदै आएका २५ चोर पक्राउ परेका हुन् । प्रहरीले पक्राउ गरेकोमध्ये सुवास नेपाली समूहको शैली अलि फरक छ ।

चलाखीपूर्वक चोर्ने उनीहरुले मोजमस्तीमै पैसा उडाउने गर्थे । प्रहरीका अनुसार चोरी गर्ने घरमा कसैलाई खोज्न आएको बताएर उनीहरु छिर्ने गर्थे । यदि घरमा मान्छे भेटिए कुनै व्यक्तिको घर भन्ठानेर आएको बताउने गरेका थिए ।

चोरेपछि ट्याक्सीमा भाग्ने उनीहरु गेस्टहाउसमा बस्ने गर्थे । चोरीको सामान बेचेपछि मोजमस्ती गर्न डान्सबार जान्थे । कतिपय चोरीकै गहना डान्सबारमा युवतीहरुलाई टिप्सका रुपमा दिने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले बताएका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट सात तोला सुनका गरगहनालगायतका विभिन्न धनमाल प्रहरीले बरामद गरेको छ । दुई महिनादेखि उनीहरु बागबजारको स्वागतम गेष्टहाउसमा बस्दै आएका थिए ।
गिरोहका नाइके नेपाली गत जेठमा बानेश्वर बृत्तबाट पक्राउ परेकामा अदालतले उनलाई १४ हजार धरौटीमै छाडिदिएको थियो ।

छुटेपछि गिरोह नै बनाएर उनले धन्दा अघि बढाएका थिए ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us