
काठमाण्डु, २७ मंसिर–व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले एमबिबिएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र किनबेच सम्बन्धमा छलफल गर्न बोलाएको बैठकमा शिक्षामन्त्री चित्रलेखा यादव अनुपस्थित रहिन् । समितिले मन्त्रीसहित शिक्षा मन्त्रालयका पदाधिकारीलाई शुक्रबार बैठकमा बोलाएको थियो ।
निर्धारित समयमा सुरु भएको बैठकको अन्तिम समयसम्म शिक्षामन्त्री यादवले आफू आउने–नआउने कुनै जानकारी नदिएपछि बैठक स्थगित भयो । समितिका सबै सदस्य उपस्थित भइसकेपछि शिक्षासचिव विश्वप्रकाश पण्डितले समिति सभापति शेरधन राईलाई मन्त्री उपस्थित हुन् नसक्ने जानकारी दिएका थिए ।
मन्त्रीले संसदीय समितिप्रति उदासिनता देखाएको भन्दै समितिले आपत्ति जनाएको छ ।
सभापति राईले मन्त्रालयले लिने परीक्षाको प्रश्नपत्र किनबेचजस्तो संवेदनशील कुरामा मन्त्रालयको धारणा बुझ्न खोज्दा मन्त्रीको अनुपस्थितिले शंका बढाएको बताए ।
‘प्रश्नपत्र बिक्रीवितरणमा कर्मचारीकै संलग्नता रहेको सञ्चारमाध्यममा आएका छन्’, उनले भने, ‘यस्तो संवेदनशील विषयमा सम्बन्धित मन्त्रीलाई बोलाउँदा अनुपस्थित हुनुले झनै शंका बढाएको छ ।
नागरिक दैनिकबाट