
काठमाण्डु, २७ मंसिर–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कांग्रेस–एमालेले नभएर कांग्रेस–एमालेलाई आफूले खेलाएको बताएका छन् ।
दाहाल निवासमा शुक्रबार पुगेका जनजाति नेताहरु पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, ओम गुरुङ, सुरेश आलेमगर लगायतसँगको भेटर्वार्तामा उनले संविधान निर्माणका क्रममा आफूले जातीय पहिचान कुनै पनि हालतमा नछोड्ने स्पष्ट पार्दै अहिले कांग्रेस–एमालेलाई आफूले खेलाएको बताए ।
सत्तारुढ दलका शीर्ष नेताहरु संविधान निर्माणका विषयमा निकट रहेको समयमा फेरि दाहालले जातीय राज्यकै आश्वासन जनजाति नेताहरुलाई दिएका छन् ।
दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘कांग्रेस–एमाले २०४७ सालको संविधान व्युँत्याउने खेलमा लागेका हुन सक्छन् । एमाओवादी र त्यसका अध्यक्ष २०४७ त परै जाओस्, अन्तरिम संविधान २०६३ अनुसार पनि नयाँ संविधान बनाउने पक्षमा छैनन् । त्यसैले मलाई कांग्रेस–एमालेले होइन, मैले कांग्रेस–एमालेलाई खेलाउँदै छु ।
दाहालले जातीय पहिचानका आधारमा संघीय प्रदेश निर्माण, समावेशी र समानुपातिक आधारको प्रतिनिधित्व एमाओवादीकै बटमलाइन भएको आश्वासन जनजाति नेताहरुलाई दिएका थिए । दाहालले उनीहरुसामू आफू लोकतान्त्रिक आन्दोलन र १० वर्षे जनयुद्धको मर्मको प्रतिनिधित्व गर्न पछि नपर्ने प्रतिबद्धता जनाए ।
अन्नपूर्णपोस्ट दैनिकबाट