
काठमाण्डु, २६ मंसिर– एमबिबिएस छात्रवृत्ति प्रवेश परीक्षको प्रश्नपत्र बिक्री गर्ने गिरोह अघिल्लो शनिबार राजधानीमा पक्राउ पर्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले परीक्षा हुनुअघि गोल्डेनगेट कलेजका दुई निर्देशकसहित सात जनालाई प्रश्नपत्र लेनदेन गरिरहेकै अवस्थामा पक्राउ गरेको थियो ।
यसरी प्रश्नपत्र बिक्री गरेबापत ठूलो रकम लेनदेन भइरहेको घटना हरेक वर्षजसो सार्वजनिक हुँदै आएका छन् । दोषी पहिचान गरिएका छन् । कारबाही सिफारिस पनि नभएको होइन, तर यो प्रवृत्ति झन्झन् मौलाउँदै गएको छ ।
शिक्षा मन्त्रालयको छात्रवृत्ति मात्र होइन, मेडिकल पढाइ हुने विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवेश र अन्य नियमित परीक्षामा समेत यसरी नै प्रश्नपत्र बेचिने गरेका छन् ।
चिकित्सशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत स्नातकोत्तर तह प्रवेश परीक्षा प्रश्नपत्र ‘आउट’ भएको घटनाबारे छानबिन समितिमा बसेका डा. महेश खकुरेल कारबाही गर्नुपर्ने र कारबाही गर्ने अधिकार पाएका दुवैथरी व्यक्ति राजनीतिक भागबन्डामा आउनाले समस्या ज्युँका त्युँ रहेको बताउँछन् ।
‘कारबाही गर्ने पनि राजनीतिक भागबन्डाबाट आउँछन्, कारबाही गर्नुपर्ने पनि भागबन्डाकै हुन्छन्, अनि कसरी हुन्छ ?’ उनले भने ।
नागरिक दैनिकबाट