दबाबमा मोहन वैद्य

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते २:१९ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– नेकपा–माओवादी विभाजन भएपछि अध्यक्ष मोहन वैद्य किरणमाथि ठूलो दबाब सिर्जना भएको छ । संगठन बलियो नबन्दै तथा पार्टीले अघि सारेको अन्दोलन नयाँ चरणमा प्रवेश नगर्दै युवा नेताहरुसहितको समूह हिँडेपछि उनी दबाबमा परेका छन् ।

mohan baidhya
नेतृत्वले ‘क्रान्तिकारी पार्टी निर्माण गर्न नसकेको’ आरोप लागाउँदै सचिव नेत्रविक्रम चन्द विप्लव समूहले पाटीसित सम्बन्धविच्छेद गरेको थियो । उनको संयोजकत्वमा नयाँ पार्टी ‘नेकपा (माओवादी)’ गठन भएको छ ।

माओवादीका पूर्वनेता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले विप्लवको सम्बन्धविच्छेदले वैद्यमाथि ठूलो राजनीतिक दबाब पैदा गरेको बताए । ‘वैद्यजीमाथि नेतृत्व कुशलताको प्रश्न उठेको छ, पहिलो चरणमा उहाँले जानीजानी नेतृत्व प्रचण्डलाई हस्तान्तरण गरेको भन्नु भएको थियो, तर अहिले वैचारिक धरातलअनुसार नेतृत्व गर्न नसकेको भनेर विप्लवले प्रश्न उठाएपछि उहाँमाथि दबाब परेको छ’, थापाले भने, ‘अव समस्या विप्लवलाई भन्दा वैद्यलाई बढी छ, नेकपा–माओवादी गठनको सूत्रधार नै निस्केपछि अब के गर्ने भन्ने समस्या वैद्यजीलाई परेको हुन् सक्छ ।’

चुनावी राजनीतिमा एकीकृत माओवादी र संघर्षको राजनीतिमा विप्लवको नयाँ पार्टी हावी हुनसक्ने विश्लेषकहरु बताउँछन् । सर्वपक्षीय राजनीतिकसभाको माग र सामान्य विरोधका कार्यक्रमबाट मात्रै नेकपा–माओवादीले ‘राजनीतिक स्पेस’ बनाइराख्न कठिन देखिने उनीहरुको विश्लेषण छ ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us