
काठमाण्डु, २५ मंसिर–सवारीसाधनको कागजपत्र चेक/जाँच गर्ने क्रममा अरनिको राजमार्गस्थित विभिन्न स्थानमा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ ।
अरनिको राजमार्गको विभिन्न स्थानमा सवारीसाधनको चेक गर्ने क्रममा चेकिङमा खटिएका प्रहरीहरुले ५० देखि २ सय रुपैयाँसम्म पकेट खर्चको रुपमा असुल्ने गरेका हुन् ।
काभ्रेको साँगादेखि सिन्धुपाल्चोकको विभिन्न स्थानमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन् । सवारीको कागजपत्र माग्ने क्रममा सवारी चालकहरुले कागजपत्रभित्रै पैसा हालेर दिने गरेका छन् ।
काभ्रेको खावा, पाँचखाल र दोलालघाट प्रहरी चौकीले प्रत्येक सवारीसाधनसँग रकम असुल्ने गरेका छन् । राजमार्गमा चेकिङमा खटिने प्रहरीहरुले निजी सवारीसाधनभन्दा पनि मालवाहक र यात्रुबाहक सवारीसाधनसँग बढी रकम असुल्ने गरेको चालकहरुले जानकारी दिएका छन् ।
मेलम्चीलगायतका स्थानबाट गिटी, बालुवा बोक्ने ट्रिपर र खासाबाट आउने कन्टेनरहरुसँग प्रहरीले रकम असुल्ने गरेका छन् ।
राजधानी दैनिकबाट