राजधानीमा स्कुटर चलाउनेको जीवन धरापमा

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ३:०८ मा प्रकाशित

12197-ayesha-takia-riding-a-scooty.jpgकाठमाण्डु, २४ मंसिर– बबरमहलमा आइतबार साँझ बसको ठक्करबाट स्कुटर चालक म्याग्दीकी शान्ता हमालको मृत्यु भएको २४ घन्टा नबित्दै सोमबार साँझ तीनकुनेमा ट्रकको ठक्करबाट अर्की स्कुटर चालक उदयपुरकी निशा बस्नेतको मृत्यु भयो ।

माइतीघर–तीनकुने सडक खण्डमा भएका यी दुई घटनाका दोषी चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइसक्यो । शान्ताको स्कुटरलाई बसका चालकले सय मिटर र निशाको स्कुटरलाई ट्रक चालकले करिब ५० मिटर परसम्म जानीजानी घिसारेपछि मात्रै ब्रेक लगाएका थिए ।

दुवै घटनामा चालकले जानाजान मार्न खोजेको प्रस्ट हुन्छ । प्रहरी अनुसन्धान पनि त्यही विषयमा केन्द्रित भएर अगाडि बढेको छ । शान्ताले सडकको स्पिड ब्रेकरमा ब्रेक लगाउँदा बसले पछाडिबाट ठेलिदियो भने निशाले ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दियो ।

ट्राफिक प्रहरीले अध्ययन गर्दा राजधानीमा मोटरसाइकलभन्दा स्कुटरको यात्रा बढी जोखिमपूर्ण भएको तथ्य फेला परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा हुने गरेका दुईपांग्रे सवारीसाधनको दुर्घटनाबारे गरेको विश्लेषणपछि यस्तो तथ्य बाहिर आएको हो ।

अध्ययनबाट सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने पनि दुईपांग्रे सवारी साधन रहेको देखिएको महाशाखाका प्रमुख डीआईजी केशव अधिकारीले बताए । मंसिर दोस्रो साता राजधानीका सडकमा गुड्ने स्कुटर चालकसँग ट्राफिक प्रहरीले प्रश्नसमेत गरेको थियो ।

‘हामीले दुर्घटनामा परेका स्कुटर चालकलाई सोध्दा राम्रोसँग ब्रेक नलाग्ने, चक्का सानो भएपछि उबडखाबड ठाउँमा इन्जिनले भुइँ छुने, तत्काल गति सन्तुलनमा राख्न नसकिने, सजिलै मोड्न नसकिने, मोड्दा सीधा बत्ती नदेखिने र कम लाइट फाल्नेजस्ता समस्या सुनाए’, डीआईजी अधिकारीले भने, ‘स्कुटरको यात्रा जोखिमपूर्ण रहेको उनीहरूकै मुखबाट सुन्न पाइयो ।’

दोषी ठूला सवारीका चालक मात्रै नभएर स्कुटर चालक पनि रहेको स्पष्ट पार्दै अधिकारीले भने, ‘जाडो सुरु भएसँगै युवतीले आँखामात्रै देखिने गरी र कान नसुन्ने गरी गलबन्दी गुथ्ने गरेको पाइन्छ । यसले पनि दुर्घटना निम्त्याइरहेका छन् ।’

उनका अनुसार गत साउनयता स्कुटर र मोटरसाइकल दुर्घटनामा ४५ जनाले ज्यान गुमाएका छन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us