
‘क्रान्तिकारी कमरेड’ बाबुराम भट्टराई प्रखर विद्वान नेता हुनुहुन्छ । मेरो बुबाको साथी पनि हो । उहाँलाई म अंकल नै भनेर सम्बोधन गर्छु ।
मैले सुनें उहाँले आफ्ना बुबाको ८४ मा पूजापाठ गर्नुभयो रे । मेरो बुबा पण्डित नारायण पोखरेल उहाँहरुकै जनयुद्ध नामको हिंसात्मक आन्दोलनमा मारिनुभयो । के कारणले उहाँको अवशान गराउनुभयो त्यसको जवाफ प्रचण्ड–बाबुराम र सरकार पक्षले अझै दिएको छैन ।
हत्यामा संलग्नमाथि कारबाही वा उनीहरुले दुःख पाउन भन्ने मनसाय मेरो छैन । तर मेरो बुबाको हत्या के कारणले गरिएको थियो, त्यसको चित्तबुझ्दो जवाफ हामीलाई चाहिन्छ । शान्तिले संसार जित्छ र हिंसाले हार्छ भन्ने मान्यता मेरो हो । मेरो बुबाको सन्देश पनि त्यही थियो ।
मेरो बुबा आत्यत्मिक ज्ञानको प्रचारक मात्र होइन । सामाजिक अभियन्ता हुनुहुनथ्यो । उहाँ माओवादीविरोधी वा सरकार पक्षको मान्ने हुनुहुन्थेन । तर पनि उहाँको दुःखद अवशान गराइयो ।
मलाई के लाग्छ र सबैलाई लागेको कुरा पनि के हो भने मेरो बुबाको अवशानको एक मात्र कारण थियो, हिन्दू धर्मप्रतिको आस्था र विश्वास । त्यही आस्था र विश्वासका कारण उहाँको अन्त गरिएको हो भन्नेमा कसैको दुईमत हुँदैन होला भन्ने मेरो दृढ अडान हो । ढिलै भए पनि बाबुराम अंकलको सदबुद्धि आएछ । मैले सुनें उहाँ आफैं जग्गेमा बसेर भगवानको पूजाअर्चना गर्नुभएछ ।
तस्वीरहरुमा पनि मैले त्यो कुरा देखें । त्यसमा खुसी छु । किनकी हत्या र हिंसाको राजनीतिले संसार जित्छु भनेर हिंडेको मान्छे आज ईश्वरको शरणमा आएको छ ।
बाबुरामले यो उमेरमा आएर बुझ्नुभएछ कि संसार युद्ध र हिंसाले होइन, शान्ति र सदबुद्धिले जितिन्छ भन्ने । अरुले भन्लान उहाँ बिग्रनु भयो । आध्यात्मववादको कट्टर आलोचक र भौतिकवादका पूजारी बाबुराममा वैचारिक स्खलन आयो । तर म त्यसो कपादि भन्दिन । मत के भन्छु भने उहाँमा बल्ल वैचारिक सद्बुद्धि आएछ, बल्ल उहाँले मानव जीवनको मर्म बुझ्नु भएछ ।
मानिसले जवानीमा जे सुकै गरोस् जीवनको अन्तिम क्षणमा पुग्ने भनेको ईश्वरकै शरणमा हो । मलाई विश्वास छ अन्ततोगत्वा बाबुराम मात्र होइन, प्रचण्ड, मोहन वैद्य, बादल, विप्लव सबै इश्वरप्रति समर्पित नै हुनेछन् ।
विज्ञानका महान आविष्कारक अल्बर्ट आइन्सटाइनजस्ता व्यक्तिमा गीता पढेपछि आध्यात्मवादतर्फ आकर्षित हुनुभएको थियो । जीवनभर भगवानलाई गाली गर्दै हिंड्ने महाकवि देवकोटा जीवनको उत्तराद्र्धमा पशुपतिनाथको शरणमा गएको त सबैलाई थाहै भएको कुरा हो ।
अन्तिममा वैचारिक रुपमा फेरिएका मेरो प्रातःपुजनीय बाबुराम अंकललाई १० औंला जोडेर के बिन्ती छ भने अब त कम्तिमा मेरो बुबाको हत्याको कारण प्रष्ट पारिदिनुस् । हिजो पो तपाईँ आफूलाई नास्तिक हुनुमै गर्व गर्नुहुन्थ्यो ।
आज त तपाईं पनि हाम्रो मान्यतामा आइपुग्नुभएको छ । के नारायण पोखरेल तपाईंको साथी होइन ? पूजापाठ गरेर मात्र तपाईंले प्रायस्चित गरेको म ठान्दिन्
। यदि तपाईंले साँच्चै प्रायश्चित गर्ने हो भने तपाईंसँग क ख रा पढेको साथीको तपाईंकै अगुवाईमा भएको हिंसात्मक आन्दोलनमा अनाहकमा ज्यान गएको विषयमा सार्वजनिक रुपमा बोल्नुस् ।
तपाईं र प्रचण्डले नयाँबजारमा मलाई बोलाएर हामी सरकारमा गएपछि त्यसको सत्यतथ्य छानबिन गर्छौं भन्नु भएको थियो । त्यसपछि प्रचण्ड र तपाईं दुवैजना प्रधानमन्त्री बन्नुभयो । तर नारायण गुरुको अवशानको विषयमा किन छानबिन गर्नुभएन ?