
काभ्रे, २३ मंसिर– प्रेम विवाह गरेर ल्याएकी श्रीमती दलित परेको भन्दै एक युवाले विवाहको तीन दिनमै घर निकाला गरिदिएका छन् ।
फोनमार्फत चिनजान गरिएकी युवतीलाई वैदिक परम्पराअनुसार विवाह गरेको तीन दिनामा दलित भएको थाहा पाएपछि एक ब्राह्मण युवाले घर निकाला गरिदिएका हुन् ।
केटीले दलित नभनी रिजाल भनेर झुक्याएको भन्दै ती युवाले तीन दिनपछि घर निकाला गरिदिएको पीडितले बताएकी छन् । काभ्रे देवटार गाविसकी २० वर्षीया युवती कल्पना रिजाल ‘विक’ लाई सिन्धुपाल्चोक सिपापोखरेका १९ वर्षीय सन्तोष आचार्यले घर निकाला गरिदिएका हुन् ।
तीन दिनसम्म घरमै राखेको र दलित भनेपछि आफूलाई घर निकाला गरिदिएको निवेदन जिल्ला प्रहरी कार्यालयमा परेपछि घटना सार्वजनिक भएको हो । ‘मलाई राम्रोसँग पाल्छु भनेर विवाह गरेर लानुभयो, अहिले मेरो विचल्ली भयो’, प्रहरी कार्यलयमा उनले दुखेसो पोखिन, ‘अब मैले न्याए पाउँछु कि पाउँदिन ?’
तर आचार्यले भने सुरुमा आफूलाई दलित भन्ने थाहा नभएको र पछि मात्रै दलित भन्ने थाहा पाएपछि घरबाट निकालेको बताउँछन् ।
राजधानी दैनिकबाट