शौचालयलाई भण्डार गृह बनाएर दिसा गर्न पाखातिर

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते ३:१६ मा प्रकाशित

कञ्चनपुर, २२ मंसिर– दातृ निकायले निर्माण गरिदिएका शौचालयलाई कञ्चनपुरको देखतभूलीका बासिन्दाले दाउरा राख्ने ठाउँ र भण्डारगृहका रुपमा प्रयोग गर्दै आएका छन् ।

शौचालयलाई भण्डारगृह बनाएपछि शौचका लागि खोला, खेत किनारा र सडक छेउलाई रोज्ने गरेका छन् । खुला स्थानमा शौच गर्न जानु हुँदैन भन्ने चेतना नभएका कारण स्थानीय बासिन्दाले शौचालय प्रयोग गर्नुको साटो खुला ठाउँलाई नै रोज्ने गरेको देखतभूली स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाले बताए ।

‘आरएनएन भन्ने गैरसरकारी संस्थाले तीन वर्षअगाडि दुई वडाका बासिन्दाका लागि बनाइदिएका शौचालय प्रयोग गर्नुभन्दा सामग्री थुपार्ने ठाउँ बनाइएकाले शौचालय प्रयोगमा आउन सकेका छैनन्’, उनले भने ।

स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने र घरमै रहेका बासिन्दालाई महिला स्वास्थ्य स्वयम्सेविकामार्फत शौचालय प्रयोग गर्न बारम्बार सल्लाह दिने गरेका भए पनि स्थानीयले शौचालय प्रयोग गर्न मान्दै नमान्ने गरेको झाले बताए ।
गाविसको चारैतिर झाडी, नदी रहेकाले पनि खुला शौच गर्नका लागि स्थानीयले सहज मान्ने गरेको उनको भनाइ छ । दैनिक स्वास्थ्य चौकी उपचारका लागि पुग्ने बिरामीमध्ये २० प्रतिशत बिरामी खुला दिसापिसाबका कारण हुने पानीजन्य रोगका कारण प्रभावित भई पुग्ने गरेको उनले भनाइ छ ।

सबैभन्दा बढी पखाला, आउँ, रगतमासी र छालाजन्य रोगको समस्या लिएर पुग्ने बिरामीको संख्या बढ्दो रुपमा रहेको छ । ‘बालबालिकामा जुका र भाइरलको समस्या बढ्दो रुपमा रहेको पाएका छौं’, उनाले भने, ‘त्यो सबै खुला ठाउँमा दिसापिसाब गर्नेहरुको कारणले निम्तिएको हो ।’

देखतभूली गाविसका सचिव सुरेन्द्रबहादुर चन्दका अनुसार पूरै गाविसमा शौचालयको प्रयोग गर्ने १० प्रतिशत परिवार मात्रै रहेका छन् । शौचालयको प्रयोगमा जोड दिनका लागि चुनौती रहेको उल्लेख गर्दै उनले गाविसमा बसोबास गर्ने बासिन्दामा चेतना कमीले यसको प्रयोगमा बढावा दिन सक्ने अवस्था नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us