
काठमाण्डु, २२ मंसिर– साथीको बिहेमा हिँडेकी एक युवतीको राजधानीमा छुरा हानी हत्या भएको छ । मैतिदेवीस्थित ‘एफ एन्ड एफ’ छात्राबासमा बस्दै आएकी २० वर्षीया रितु महासेठलाई शनिबार दिउँसो एक युवकले छुरा प्रहार गरेका थिए ।
टिचिङ अस्पतालमा उपचार गर्दागर्दै राति ९ बजे उनको निधन भएको हो । अस्पतालले रितुको शरीरमा ७ ठाउँमा छुरा लागेको जनाएको छ ।
प्रहरीले ‘प्रेम सम्बन्धका कारण युवतीको हत्या भएको हुन् सक्ने’ अनुमान गरेको छ । साथै रहेका साथीले दिएको बयानका आधारमा युवतीले कसैको प्रेमबाट अलग भएकै कारण घटना भएको हुनसक्ने अनुमान गरिएको हो ।
‘युवतीसँग चिनजान नभएको व्यक्तिले अचानक बीच बाटोमा छुरा झिकेर हान्दैन,’ महानगरीय प्रहरी आयुक्त कार्यलयका एक प्रहरी अधिकृतले भने, ‘प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा हानेको हुनुपर्छ ।’
होस्टेल सञ्चालिका शारदा भट्टराईका अनुसार रितु दुई वर्षदेखि उक्त होस्टेलमा बस्दै आएकी थिइन् । धेरै नबोल्ने उनी कान्तिपुर कलेजमा बिबिए पढ्दै थिइन् ।
कान्तिपुर दैनिकबाट