
काठमाण्डु, २१ मंसिर– नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी नामका पार्टीले जनतालाई धोका दिएका कारण अर्को माओवादी जन्माउनु परेको स्पस्टोक्ति दिएका छन् ।
उनले अब साँच्चिकै क्रान्ति गरेर देखाइदिने समेत दाबी गरे एमाओवादी, नेकपा– माओवादी हुँदै आफ्नै नेतृत्वको नेकपा माओवादी गठन गर्न पुगेका चन्दले सगरमाथाको देशमा अझै माओवादीहरु जीवित रहेको देखाउन नयाँ पार्टी गठन गरेको प्रष्ट्याए ।
देशव्यापी रुपमा काठमाण्डुमा भेला भएका जनवर्गीय संगठनका नेता कार्यकर्तालाई शनिबार प्रशिक्षित गर्दै चन्दले भने ,‘हामीले प्रचण्डकै नेतृत्वमा क्रान्ति सम्पन्न गर्न खोजेका थियौं, भएन, किरणको नेतृत्वमा क्रान्ति अगाडि बढाउन खोजेका थियौं, भएन, कसैबाट पनि नहुने देखेपछि हामी आफैं अगाडि बढेका हौं ।’
माओवादी भन्नेबित्तिकै निराश भएका, अपहेलित भएजस्तो देखिए पनि त्यही निराशा र अन्योल चिरेर अघि बढ्न नयाँ पार्टी गठन गरेको चन्दले बताए ।
‘हामीले क्रान्तिको कुरा गर्दा कतिपयले खिसिटिउरे गरेर पत्याइरहेका छैनन्’, उनले थपे, ‘हेर्दै जानुहोला यो नेतृत्वले साँच्चै गर्ने नै भनेर नयाँ कम्युनिष्ट पार्टीको झण्डा उचालेको हो ।’
राजधानी दैनिकबाट