
काठमाण्डु, २१ मंसिर– प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेतासम्मले पिएसओ सेवाको दुरुपयोग गर्दै प्रहरीलाई घरेलु कामदारको रुपमा समेत प्रयोग गरेका छन् ।
नियम– कानुन बनाउने व्यक्तिहरुले समेत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिको धज्जी उडाएका छन् ।
प्रहरीबाट प्राप्त गोप्य रिपोर्टअनुसार पाँच सयभन्दा धेरै प्रहरी अहिले उच्चपदस्थ व्यक्तिहरुकहाँ घरेलु कामदार र सहयोगीका रुपमा खटिएका छन् ।
प्रधानमन्त्री सुशील कोइराला,उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम,पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल,,बाबुराम भट्टराई, सभामुख सुवास नेम्वाङ,प्रधानन्यायधीश रामकुमारप्रसाद साह,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलगायतले पनि मापदण्डविपरित प्रहरी राखेका छन् ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिको व्यवस्थाअनुसार प्रधानमन्त्री कोइरालाले सुरक्षाका लागि ३५ प्रहरी पाउँछन् । तर उनले अहिले ६८ प्रहरी लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाबाहेकका अन्य काममा पनि प्रहरी खटाइने गरिएको छ ।
कानुनको पालना गराउने तथा व्याख्या गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले कार्यविधिविपरीत सुरक्षाकर्मी लिएका छन् । सात प्रहरी पाउनुपर्नेमा उनको सुरक्षामा नौ प्रहरी खटिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पनि कार्यविधिभन्दा ८ प्रहरी बढी लिएका छन् । १० जना पाउनेमा उनको सुरक्षामा १८ प्रहरी खटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले २१ प्रहरी बढी लिएका छन् ।
संवैधानिक आयोगका प्रमुखलाई दुईजना खटाउने व्यवस्था कार्यविधिमा छ । तर कार्कीले २३ प्रहरी लिएका छन् ।
नयाँ पत्रिबाबाट