नेपाल अलकायदाको अखडा बन्दै, अलकायदाका २० सहयोगी पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते २:१६ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा सम्बद्ध व्यक्तिले धर्मको आवरणमा नेपालमा बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय,५ पाकिस्तानी र २ नेपाली छन् । आतंकवाद र अन्दरदेशीय अपराध हेर्ने प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसोबाट राति अबेरसम्म विशेष अप्रेसन सञ्चालन गरी काठमाण्डुका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
विश्वस्त स्रोतका अनुसार उनीहरु ‘कल्की अवतार फाउन्डेसन’ नामक संस्थाको आवरणमा नेपाल बसेर योजना बनाइरहेको सूचना प्रहरीमा पुगेको थियो ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआर्इजी विज्ञानराज शर्माले आपराधिक गतिविधिको योजना बुनिरहेको सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको पुष्टी गरे  ।

‘आपराधिक गतिविधि गराउन सक्ने सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको हो,’शर्माले भने ,‘केही अनुसन्धानपछि मुक्त भइसके, केही अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।’
जानकार स्रोतका अनुसार ३ दिनअघि आतंकवादी संगठन अलकायदा सम्बन्धित व्यक्तिहरु धर्मको आवरणमा नेपाल बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचना प्रहरीले पाएको थियो ।
काठमाण्डुमा सम्पन्न सार्क शिखर सम्मेलनको सुरक्षा प्रबन्धका क्रममा प्रहरीको विशेष ब्युरोले नेपाल आइरहेका पाकिस्तानी, भारतीय र अन्य देशका नागरिकबारे सूचना संकलन गरेको थियो ।

केही पाकिस्तानी ४ महिनाअघि नै नेपाल आएर बसेको सूचना पाएपछि ब्युरोले उनीहरुका गतिविधिबारे निगरानी राख्दै आए पनि पक्राउ भने गरेको थिएन । केही महिनाअघि अलकायदाका प्रमुख आयमन अल जवाहरीले एसियाली मुलुकमा आफ्नो शाखा विस्तार गर्ने घोषणा गरेका थिए ।

त्यसलगत्तै भारतमा शाखा स्थापना भएको घोषणा भएपछि नेपालका सुरक्षा निकाय सजग भएका थिए ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us