बैंकक, १९ मंसिर– केही महिनायतेखि अस्पतालमै बसेर उपचार गराइरहनुभएका थाई नरेश भूमिबोल अदुल्यादेजले स्वास्थ्यको खराबीका कारण सर्वसाधारण थाई नागरिक एवम् सबैलाई दर्शन भेट नदिने भएका छन् ।
शुक्रबार थाई राजा भूमिबोलको ८७ औं जन्मदिन हो । उनी बिरामी भई केही महिनायतादेखि अस्पतालको शय्यामा छन् । त्यसैले यस पटकको जन्मदिनको अवसरमा यसअघिजस्तो उनले दिने गरेको दर्शन भेट नदिने भएका हुन् ।
थाई नरेश त्यहाँका नागरिकबीच लोकप्रिय छन् । उनको जन्मदिनको अवसरमा हजारौं नागरिकले अस्पताल बाहिरै पुगेर शुभकामना दिएका छन् ।
उनी गत वर्षपनि बिरामी नै रहेको समयमा सो अस्पतालमा उपचार गराइरहेका थिए र त्यसै अस्पतालको बरण्डामा उभिएर सबै नागरिकलाई सामुहिक दर्शनभेट दिए थिए ।
तर यस पटक भने स्वास्थ्य अवस्था नाजुक भएकोले चिकित्सकले बाहिर नकिस्कन भनेका बताइएको छ । शाही चिकित्सकहरुको एक टोलीले राजा सामुहिक दर्शन भेटका लागि पनि बाहिर निस्कन नहुने सुझाव दिएका थिए ।
उनलाई शुभकामना दिन जाने नागरिकका लागि अस्पतालको बरण्डाबाट उनले दर्शनभेट दिने र त्यही दृश्य टेलिभिजनले पनि प्रत्यक्ष प्रशारण गर्नेगरी कार्यक्रम मिलाइएकोमा चिकित्सकले सोका लागि अनुमति नदिएपछि स्थगित गरिएको समाचारमा जनाइएको छ ।
थाई राजाको जन्मदिनलाई थाइल्यान्डमा फादर्श डे का रुपमा पनि मनाउने चलन छ । सो दिन त्यहाँ सार्वजनिक बिदा दिने गरिएको छ ।
राजा भूमिबोल थाइल्याण्डको राज्य प्रमुख तथा अभिभावकका रुपमा पनि मानिन्छन् । उनी विश्वकै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने राजा पनि हुन् ।
औपचारिक राजा (सेरेमोनियल किङ्) का रुपमा रहेका राजा भूमिबोलको शासन सत्ता सञ्चालनका क्षेत्रमा भने कुनै अधिकार छैन । उनी राज्य प्रमुखका रुपमा रही आएका छन् ।
रासस