
काठमाण्डु– संसारभरिका राष्ट्रिय निकुञ्जहरुमा नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज दोस्रो उत्कृष्ट र महत्वपूर्ण गन्तव्यका रुपमा छनौटमा परेको छ । अमेरिकान्की डट कम नामक वेभसाइटले सबैभन्दा धेरै भ्रमण गरिएको आकर्षक निकुञ्जका रुपमा सगरमाथा क्षेत्रलाई उल्लेख गरेको हो ।
राष्ट्रिय निकुञ्जहरु विविध वनस्पति र वन्यजन्तुको संगमस्थल भएको उल्लेख गर्दै सगरमाथा राष्ट्रिय निकुञ्ज संसारकै सर्वोच्च शिखरको काखमा भएकाले पर्यटकहरुका लागि रोमाञ्चक र अद्वितीय भएको सो वेभसाइटले टिप्पणी गरेको छ । सगरमाथा हिमाललाई शेर्पा जातिको वासस्थानका रुपमा चित्रण गर्दै उक्त वेभसाइटले शेर्पाहरु पर्यटकसँग निरन्तर घुलमिल हुने जातिका रुपमा परिचित छन् भनेको छ ।
खुम्बु क्षेत्रमा थुप्रै आरामदायी होटलहरु भएको र सुविधासम्पन्न तथा सस्तोमा घुम्न सकिने ठाउँका रुपमा पनि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको चिनारी गरिएको छ ।
संसारको सबैभन्दा उत्कृष्ट पहिलो गन्तव्यका रुपमा भने इक्वेडरको गलापागोस टापु भएको उक्त वेभसाइटले जनाएको छ । जीव वैज्ञानिक चाल्र्स डार्विनले आफ्नो अध्ययन अनुसन्धानका लागि सबैभन्दा धेरै प्राकृतिक वस्तुहरुको चयन यही निकुञ्जबाट गरेका थिए । संसारमा सबैभन्दा धेरै मान्छेले हेर्ने विश्व सम्पदा सूचीमा यस क्षेत्रलाई युनेस्कोले पनि राखेको छ । यसमा हजारौं प्रजातिका वन्यजन्तु र वनस्पति पाइन्छन् ।