
श्रीनगर, १७ मंसिर– भारत प्रशासित काश्मिरको कुप्वारा जिल्लामा विद्रोहीको एक समूह र भारतीय सैनिकबीच भएको दोहोरो गोली हानाहानमा पाँच विद्रोही सैनिकको मृत्यु भएको समाचार छ ।
उक्त जानकारी स्थानीय अधिकारीहरुले बुधबार दिएका छन् । यस घटनाको क्रममा भारतीय सैनिकतर्फ पनि दुई जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।
काश्मिरको कुप्वारामा मंगलबार स्थानीय निकाय निर्वाचनमा मतदान भइरहेको अवस्थामा सशस्त्र विद्रोही समूहले आक्रमण गरेको बताइएको छ ।
विद्रोहीहरु नोउगाम क्षेत्रको नियन्त्रण रेखा पारगरी आएका बताइएको छ । भारत प्रशासित काश्मिरमा हालैका दिनमा हत्याको शृंखला बढिरहेको छ ।
केही दिन मात्र अघि सो क्षेत्रमा एकजना स्थानीय नेताको हत्या भएको थियो । सो हत्यामा पनि त्यहाँ सशस्त्र विद्रोह गरिरहेको समूहले गरेको बताइएको छ ।
रासस