
काठमाण्डु, १७ मंसिर–शिक्षकका लागि कोरियाली सरकारको सहयोगमा आएको सूचना प्रविधि (आइटी) तालिम कोटामा शिक्षा मन्त्रालयले शिक्षकका नेता तथा अभिभावक संघका पदाधिकारी पठाएको छ ।
अधिकांश समय विधामा बस्ने, काठमाण्डुभन्दा बाहिर नजाने र विद्यार्थीलाई नपढाउनेहरुलाई नै मन्त्रालयले छानीछानी तालिममा पठाएको हो । छनोटका क्रममा दलीय भागबण्डा मिलाइएको छ । जसमा कांग्रेस, एमाले। एमाओवादी र वैद्य माओवादीनिकट शिक्षक परेका छन् । अभिभावक संघका अध्यक्षलाई समेत शिक्षक कोटाको तालिममा भाग दिइएको छ ।
कोरियाको शिक्षा मन्त्रालयले नेपालका सामुदायिक विद्यालयमा सूचना प्रविधिको विषय पढाउने शिक्षकलाई लक्ष्य गरेर १८ जनाको निम्ति ११ दिने तालिम कोटा पठाएको थियो ।
शिक्षा मन्त्रालयले भने सोमबार कम्प्युटर शिक्षासँग सरोकार नै नभएका कांग्रेसनिकट नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला, एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा, एमाओवादीनिकट अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रत्नबहादुर ओली र नेकपा–माओवादीनिकट शिक्षक संगठनका अध्यक्ष लालबहादुर बिसीलाई उक्त तालिममा पठाएको छ ।
कम्प्युटर शिक्षासँग सरोकार नै नभएका अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी र माओवादीनिकट राष्ट्रिय अभिभावक संघ नेपालका अध्यक्ष दर्मदत्त देवकोटासमेत आइटी तालिममा गएका छन् ।
नागरिक दैनिकबाट