
काठमाण्डु, १६ मंसिर– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पछिल्ला दिन राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलेसँगै संविधान लेखनको काम ओझेलमा परेको टिप्पणी गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले तोकिएकै समयमा संविधान जारी गर्न आग्रह गर्ने उद्देश्यले आज उनकै निवास सानेपामा बुझाएको ज्ञापनपत्र बुझ्दै सभापति भट्टराईले पछिल्ला दिन दलहरूबीच बढेको धुव्रीकरणले पनि समस्या थपेको बताए ।
संविधानका आभारभूत विषयमा बाह्रबुँदे सहमति र शान्ति सम्झौताका हस्ताक्षरकर्ता शक्तिबीच सहमति हुनुपर्नेमा त्यसो हुन नसकी कित्ताकाट गर्ने क्रम बढेका कारण तोकिएको समयमा संविधान जारी हुँदैन कि भन्ने आशङ्का बढेर गएको उनको कथन थियो ।
संविधान लेखन प्रक्रिया बहुमत र अल्पमतको आधारमा अगाडि बढ्ने विषय नभएको भन्दै उनले यसलाई सहमतिकै आधारमा टुङ्गो लगाउनुपर्ने र सबैले अपनत्व महसुस गर्ने गरी आगामी माघ ८ गतेभित्रै जारी हुनुपर्ने उनको भनाइ छ ।
‘राष्ट्रिय सहमतिको सरकार गठन हुने विषय गलत नभएपनि त्यस्तो सरकार माघ ८ गते अगाडि हो वा पछाडि हो भन्ने विषयमा प्रस्ट पारी सहमति कायम गर्न दलहरूलाई म विशेष आग्रह गर्दछु, सभापति डा भट्टराइृले भने । दलहरूले सहमतिका आधारमै संविधान जारी गर्न केही दिन समय दिनुप¥यो भन्ने आग्रह गरेकाले बुधबार दिउँसो दुई बजेसम्मका लागि सम्वाद समितिको बैठक स्थगन गरिएको समेत उनले जानकारी दिए ।
‘दलहरूबीच अनौपचारिक छलफल चलिरहेको छ भन्ने सुनेको छु, आशा गरौ बुधबारसम्म केही न केही सहमति हुन सक्छ, सहमति भएन भने पनि सम्वाद समितिमा विवादित विषयलाई अड्काएर राख्न मिल्दैन, उहाँहरूले बाटो खोलिदिनुपर्दछ,’ सभापति भट्टराईले भने, ‘विगतमा पनि सहमतिकै आधारमा भदौ १३, असोज १३ र ३० गते प्रतिवेदन पठाइएको हो । सहमति नभएसम्म सत्तारुढ दलको तर्फबाट पेस गरिएको प्रस्तावसमेत पठाउन सकिँदैन ।’
दलहरूबीच सहमति नभए मुलुक गम्भीर द्वन्द्वमा फस्ने उनको चेतावनी थियो । पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले तोकिएको समयमा संविधान जारी गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
रासस