जहाँ न्याय खोज्न अदालत होइन, मन्दिर जाने गरिन्छ…
काठमाण्डु टुडे
२०७१ मंसिर १४ गते ८:१० मा प्रकाशित

बाजुरा, १४ म्रसिर–बाजुरा जिल्लाको कोल्टी गाविसमा रहेको तलिगोठी कैलाशको मन्दिरमा विसं १९९० भन्दा अगाडिका मुद्दा छानबिन हुन बाँकी रहेको खुलासा भएको छ ।
अहिलेको २१औँ शताब्दीका मान्छेले देवताको आस्था भुली नास्तिक बनेकाले यो सत्यता नमान्लान् तर सेती, महाकाली, कर्णाली अञ्चल र भारतका केही ठाउँका जनताका लागि यो न्यायिक आस्थाको धरोहरका रुपमा चिनिने गरेको छ ।
कैलाशको मन्दिरमा दिनमा चारभन्दा बढी मान्छेका मुद्दामाथि बहस हुने गर्छ भने त्यतिले नै त्यस धाममा तारिख लगाउने र उजुरी गर्ने गर्दछन् । सरकारी अदालतमा भन्दा त्यस धाममा बढी उजुरी रिट गर्न गएको अवस्था हुन्छ ।
ती देउताले नेपालको राजनीतिक अवस्था र भविष्यमा हुने खतराका बारेमा समेत भविष्यवाणी गर्ने र ज्यानमारा, जग्गासम्बन्धी मुद्दा, कुटपिट, न्यायिक, चोरी डकैती, हाडनाता, जबर्जस्ती करणी र सन्तानका भोकालाई सन्तानको बरसमेत दिने गरेको जनविश्वास यस क्षेत्रमा आएका श्रद्धालु बताउँछन् ।
विसं १९९० मा जग्गासम्बन्धी मुद्दा परेका बझाङ जिल्ला चौधारी गाविसका भीमबहादुर थापा भन्छन्, बुबाको पालामा मेरो जग्गा खाएको हुँदा सो फिराद गरेको हुँ ।
‘बुबालाई गाउँका ठालुले अदालतमा मुद्दा दिएर घुस खुवाएर मुद्दा जितेपछि बुबा तलिगोठी कैलाशमा पुगेको बताउनुहुन्थ्यो, त्यसको तारिख लगाउन आएको छु । देउताले अपराधीलाई बोलाउँछु भनेर बसेको छु । अर्को रु १२ को पनि मुद्दा छ, त्यसको छिनोफानो गर्न आएको हुँ’ थापाले भने ।
त्यसैगरी, पाँच वर्ष अगाडि श्रीमतीको मुद्दा परेका कोल्टीका धनरुप जोशी भन्छन, ुहामीले अदालतमा जाने हो भने पहुँच पुग्दैन, केही कागजपत्र मिलाउन पनि जान्दैनौ, खर्च बढी हुन्छ । बाठाले जित्छन्, हामीले निसाफ पाउँदैनौँ, त्यसैले यस ठाउँमा कागजपत्र केही गर्नु पर्दैन सजिलो छ ।’
गरिब र पीडामा परेका मान्छेको पक्षमा फैसला हुनेहुँदा हामीले यस ठाउँमा फिराद गरेका थियौँ, आज दोषीलाई समातेर ल्याएपछि फैसला भयो चित्त बुझ्यो–उनले भने ।
‘पैसा हुनेले मात्र सरकारी अदालतमा काम गर्न सक्छन्, खर्चिलो छ । हामीजस्ताका लागि यो ठीक छ, सही निसाफ पाइन्छ । सबै गरिब जनता यस ठाउँमा आउने गरेका छन्’, उनी भन्छन् ।
यो धाममा यस्तो सत्यता भए पनि यस ठाउँका जनताको समस्या आफ्नै खालको छ । आउने सबै दर्शनार्थीको सेवासुविधा धामीले नै व्यहोर्नुपर्ने हुन्छ । खान बस्न सबै आफैले व्यहोर्नुपर्ने अवस्था रहेको तलिगोठी कैलाशका धामी मोतीलाल रोकायाको गुनासो छ ।
सरकारले त्यस क्षेत्रका लागि केही गरेको अवस्था देखिँदैन । तथापि दुई वर्ष पहिले तलिगोठीमा मन्दिर बनेको छ। यस ठाउँमा आउने ताडिकेहरु र कैलाशको कारबाहीमा परेकाहरु बस्न धर्मशाला निर्माण गरेमा मात्र जनताले सेवा पाउने थिए ।
सबै जनतालाई दैनिक खाना खानका लागि अहिले समस्या छ । त्यो समाधानका विषयमा राज्यले सोच्न जरुरी छ । रासस