अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा

काठमाण्डु टुडे २०८३ असार १९ गते १२:०० मा प्रकाशित

 काठमाण्डू, १९ असार– फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गरेका थिए । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।

पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा गोल गर्दै स्विटरज्लयान्डलाई अग्रता दिलाएका थिए । जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विट्जरल्यान्डका लागि दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै अग्रता दोब्बर पारे । नटिङहम फरेस्टबाट खेल्ने विंगरले दोस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै गोल गरेका हुन् ।

८१ औं मिनेटमा स्विट्जरल्यान्डले अग्रता बढाउने सुनौलो अवसर गुमायो । फाबियन रिडरले पोस्ट नजिकबाट हानेको बल सिधै अल्जेरियाको किपरको हातमा पुगेको थियो । स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच शनिबार हुने खेलाको विजेतासँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us