काठमाण्डू, १९ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबाहादुर शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको बताएका छन ।
विपद् व्यवस्थापन तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने दाबी सरकारले संसद्मा गरे पनि कर्णालीमा भएको घटनामा झण्डै २० घण्टा बितिसक्दा समेत उद्धारका लागि हेलिकप्टर परिचालन गर्न नसकेको बताएका हुन ।
सामाजिक सञ्जालमार्फत शाहीले लेखेका छन्, ‘विपत् व्यवस्थापन र उद्धारका लागि हेलिकप्टर राख्छु भनेर संसदमा ठूला–ठूला गफ गर्ने सरकार, कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा भने झण्डै २० घण्टा बितिसक्दा पनि हेलिकप्टर पठाउन सकेको छैन ।’
शाहीले संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो कुनै प्राथमिकता नहुने उल्लेख गर्दै पीडित परिवार आफ्ना आफन्तको सकुशल उद्धारको आशामा रातभर जागा बस्न बाध्य भएको, तर अझै राज्यको उपस्थितिको अनुभूति हुन नसकेको टिप्पणी गरेका छन्।
विपद् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता भाषण र घोषणामै सीमित भए त्यसको कुनै अर्थ नरहने उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा राज्यले आफ्नो सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने पनि उनले बताएका छन ।
सांसद शाहीले प्रत्येक क्षण अमूल्य हुने र ढिलो भएको हरेक मिनेटले कसैको जीवनसँग प्रतिस्पर्धा गरिरहेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
उनले सरकारसँग राजनीति होइन, मानवताको पक्षमा उभिन आग्रह गर्दै उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्न माग गरेका छन् ।
उनले भनेका छन्, ‘सरकारसँग हार्दिक आग्रह छ–राजनीति होइन, मानवताको पक्षमा उभिनुहोस्। उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्नुहोस् ।’