
काठमाण्डु, १४ मंसिर– नेकपा–माओवादीबाट अगग्गिएर नयाँ पार्टी गठन गरेको नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले आफूहरुमाथि सुरक्षा निगरानी बढाएर राज्यले आतंकपूर्ण वातावरण सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।
सरकारले आतंकपूर्ण मानसिकताबाट ग्रसित भएर आफ्ना नेता कार्यकर्ता तथा समर्थन जनतामाथि निगरानी बढाएकामा उसको आपत्ति छ ।
सो पक्षका नेता खड्गबहादुर विकले राष्ट्रिय राजनीति तथा देश र जनताका पक्षमा आफूहरुले प्रदर्शन गरेको गम्भीरताबाट राज्य आतंकित भएको बताए ।
‘राज्यले जसरी हाम्रो पछाडि जासुसी संयन्त्र परिचालन गरेको छ त्यो आतंकित मानसिकताको उपज हो’, विकले काठमाण्डु टुडेसँग भने, ‘गलत मानिसहरुले विषयलाई डाइभर्ट गर्न हाम्रा कार्यकर्ता र जनतालाई आतंकित पार्न खोजेका छन् ।’ उनले सुुरक्षा निकायको निगरानीबाट आफूहरु नआत्तिने बताए ।
आफूहरुले शान्तिपूर्ण रुपमा भेला गर्न पाउने संवैधानिक अधिकार प्रयोग गर्दा निगरानी बढाइनु संविधान र कानुनकै बर्खिलाप भएको ठहर सो पक्षको छ ।
‘हिजो पनि हाम्रो टाउको काटेर बुझाउनेलाई इनाम घोषणा गरिएको हो, हामी कसैले पिछा गर्दैमा तर्सने पक्षमा छैनौं’, विकले भने ।
विकले आफूहरुले सुरक्षा निकायको नजरबाट जोगिन गोप्य भेला गर्दै हिंडेको भन्ने समाचारप्रति आपत्ति जनाए । आफूहरुले सुरक्षा निकायलाई जानकारी गराएर खुलै भेला गरेको दाबी उनको छ ।
शान्त स्थानको खोजीमा काठमाण्डुबाहिर गएर छलफल गर्दैमा आतंकित नहुन उनको आग्रह छ ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट सम्बन्ध बिच्देद घोषणा गरेको उक्त समूहले चितवनको शुक्रनगरमा शुक्रबार र शनिबार केन्द्रीय सदस्य र वैकल्पिक सदरुहरुको भेला गरेको थियो । भेलाले चन्दको नेतृत्वमा नयाँ पार्टी गठनको निर्णय गरेको थियो ।