
काठमाण्डु, १४ मंसिर– नेकपा (माओवादी) का संयोजक मातृका यादवले मोहन वैद्य नेतृत्वको माओवादीबाट अलग्गिएर नयाँ पार्टी गठन गरेका नेक्रविक्रम चन्द ‘विप्लव’ लाई शुभकामना दिएका छन् ।
उनले आफूहरुले गर्न नसकेको काम चन्दले गर्न खोजेको भन्दै शुभकामना दिए । ‘हामीले गर्न नसेकेको काम उहाँले गर्न खोज्नुभएको छ’, यादवले काठमाण्डु टुडेसँग भने, ‘कम्युनिष्टहरुमा अरुको विरोधमा रमाउने प्रवृत्ति हुन्छ, तर म विप्लवजीलाई शुभकामना दिन्छु ।’
यद्यपि विप्लवले भने जसरी क्रान्ति गर्न सजिलो नभएको यादवको भनाइ छ ।
अहिले सशस्त्र संघर्षभन्दा माओवादीधारका कम्युनिष्टहरुबीच कार्यगत एकता वा एकतामार्फत क्रान्तिकारी धार निर्माण गरी जनआन्दोलन गर्ने समय भएको उनले बताए ।
विप्लवको चाहना पत्रिवै भए पनि एमाओवादी र नेकपा–माओवादीमा प्रदूषित भइसकेका मानिसहरुको जमात लिएर हिंडेकाले क्रान्ति हुनेमा आशंका गरे ।
‘एमाओवादी र ‘किरण’ दाईको पार्टीमा प्रदूषित भएर गन्हाएका मानिसहरु त्यहाँ छन्’, यादवले भने, ‘ठूलो वैचारिक र व्यवहारिक रुपान्तरणबिना विप्लवजी अगाडि बढ्न सक्नुहोला जस्तो लाग्दैन ।’
विप्लवलाई गाली नगर्न वैद्यलाई सुझाव
यादवले पार्टी छाडेर हिंडेका विप्लवलाई गाली नगर्न मोहव वैद्यलाई आग्रह गरे । आफू पनि केही नगर्ने र गर्छु भन्नेलाई पनि गाली गर्ने रोग कम्युनिष्ट आन्लोनको ‘क्यान्सर’ भएको उनले बताए ।
‘आफू पनि केही नगर्ने अनि गर्छु भन्नेलाई पनि लागी गर्ने तरिका ठीक होइन’, यादवले भने, ‘गालीतिर होइन, सबै माओवादीहरु बसेर कार्यगत एकतामार्फत दीर्घाकालिन रणनीति बनाएर अघि बढ्नेतिर दिमाग लगाउनुस् ।’