
काठमाण्डु, १४ मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज बस्दैछ ।
दलहरुबीच भावी संविधानका अन्तरवस्तुमा सहमति वा प्रक्रियामध्ये कुन बाटोबाट अघि बढ्ने भन्नेमा विवाद भएपछि समितिले संविधानसभामा प्रतिवेदन पठाउन सकेको छैन ।
सभापति बाबुराम भट्टराईले आफ्नो हात नियमावलीले बाँधेको भन्दै काँग्रेस–एमालेले अघि सारेको साझा प्रस्ताव अघि बढाउन अस्वीकार गरेपछि समिति अवरुद्ध भएको हो ।
एकीकृत माओवादीसहित विपक्षीले विगतका सहमति र प्रतिबद्धताबाट पछि हटेर ल्याइएको काँग्रेस–एमाले प्रस्ताव अघि बढाउन नसकिने अडान राख्दै आएका छन् ।
संविधान जारी गर्ने समयमसीमा माघ ८ आउन दुई महिनाभन्दा पनि कम समय रहेका बेला दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सहमति जुट्न सकेको छैन ।
यसैबीच उच्चस्तरीय राजनीतिक समितिको बैठक पनि आज बस्ने भएको छ ।
दलहरुबीच संविधान निर्माण प्रक्रियामा देखिएको गतिरोध अज्न्त्यका विषयमा विषयमा छलफल गर्न संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवाद समितिअघि उच्चस्तरीय समिति बैठक बोलाएका हुन् ।