काठमाण्डु, १३ मंसिर– कांग्रेस–एमालेले संविधानसम्बन्धी नौ बुँदे साझा प्रस्तावलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाट संविधानसभामा पठाउन पहल गर्ने निर्णय गरेका छन् । ७ प्रदेशको संघीय संरचना, संसदीय शासनप्रणालीलगायतका विषयमा अघि सारिएको साझा प्रस्ताव संवाद समितिमा अड्केको छ ।
‘नौ बुँदे प्रस्तावमा अडिग रहने निर्णय भयो’, प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको दुई दलको बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, ‘त्यसलाई संवाद समितिका सभापतिले संविधानसभामा पठाउनु पर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो ।’
उक्त प्रस्ताव संविधानसभामा पठाउने कि नपठाउने भन्ने विवादका कारण संवैधानिक समिति निर्णयविहीन बनेर बसेको छ ।
समितिमा रहेका कांग्रेस–एमालेका बहुमत सदस्यले आफ्नो प्रस्ताव अघि बढाउन संवाद समितिका सभापति बाबुराम भट्टराईलाई हस्ताक्षर बुझाएपछि समिति ‘डेडलक’को अवस्थामा छ ।
‘संविधान निर्माण प्रक्रिया जहाँ रोकिएको थियो, त्यहीबाट अघि बढाउने निर्णय भयो’, कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘त्यसका लागि प्रधानमन्त्री र दुई दलका तर्फबाट अन्य दलसँग छलफल र वार्ता अगाडि बढाउँछौं ।’
अन्नपूर्णपोस्ट दैनिकबाट