नियन्त्रणमा लियो प्रहरीले जलाउँदै गरेको शव

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ९:१६ मा प्रकाशित

पर्सा, ९ मंसिर– पर्साको बहुअर्वाभाठा गाविसको वडा नम्बर–८ गदौलकी २५ वर्षीया शोभादेवी मलाहाको शव जलाउँदै गरेको अवस्थामा घाटबाट नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार घरपरिवारका सदस्यले शोभाको शवलाई जलाउँदै गरेको अवस्थामा उनको हत्या भएको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय पोखरीयाले शरीरको आधा भाग जलिसकेको शोभाको शव नियन्त्रणमा लिई परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखेको छ ।

घटनामा संलग्न शोभाका पति छोटेलाल सहनी र ससुरा लक्ष्मण सहनी पनि फरार रहेका कारण उनको हत्या भएको हुन सक्ने आशंका गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक अनिल घिमिरेले बताए ।

स्थानीयका अनुसार छोटेलाल हालसालै विदेशबाट घरमा फर्किएका थिए । उनी विदेशबाट घर फर्किएपछि शोभा र छोटेलालका बीचमा रकमको विषयमा बेलाबेलामा झगडासमेत हुने गरेको पनि पाइएको स्थानीयबासीले बताएका छन् ।

त्यस्तै पर्सा जिल्लाको भिस्वा गाविसमा बेवारिसे अवस्थामा एकनाल पेस्तोल फेला परेको छ । सो गाविसको वडा नं १ स्थित खोलामा बेवारिसे अवस्थामा पिस्टन नामक अमेरिकी पेस्तोल फेला परेको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक तीर्थराज भण्डारीले जानकारी दिए । उनले बरामद गरिएको पेस्तोल आफूहरुले राखेको र थप अनुसन्धान भइरहेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us