प्रथम दक्षिण एसियाली महिला भलिबल काठमाण्डुमा हुने

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– नेपाल भलिबल संघको आयोजनामा प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ । संघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ४ देखि ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक दानबहादुर तामाङले जानकारी दिए ।

उनले दक्षिण एसियाली राष्ट्र र भलिबल खेलाडीबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशको सहभागिता रहनेछ । भलिबल संघबाट आर्थिक सहयोग मिलेमा अफगानिस्तानले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । त्यस्तै, पाकिस्तान र भुटानका महिला टोली भने तयारी अवस्थामा नरहेकाले सहभागिता जनाउने छैनन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमश: दुई हजार, एक हजार र पाँच सय डलर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले २५ हजार रुपैयाँ पाउने छन् । ३७ लाख ६२ हजार रुपैयाँ खर्च लाग्ने उक्त प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताका लागि संघले १९ सदस्यीय नेपाली टोलीको छनोट गरी बन्द प्रशिक्षणमा यसअघि नै राखिसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us