
काठमाण्डु, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी काठमाण्डु अाइपुगेका छन् । उनी भरखरै काठमाण्डु अाइपुगेका हुन् ।
उनलाई उपप्रधानमन्त्री वामदेव गौतमले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।
काठमाण्डुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न कार्यक्रममा अत्यन्तै व्यस्त हुनेछन् ।
विमानस्थलबाट निस्के लगत्तै केहीक्षण होटल सोल्टीमा आराम गरेपछि उनी वीर अस्पताल परिसरमा निर्माण गरिएको ट्रमा सेन्टर उद्घाटन गर्ने कार्यक्रममा सरिक हुनेछन् ।
वीर अस्पतालमा विगत लामो समयदेखि उक्त सेन्टर निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको थिएन । प्रधानमन्त्री सुशील कोइरालालाई मोदीले सेन्टर हस्तान्तरण गर्नेछन् ।
सो कार्यक्रम सकिएलगत्तै मोदी नेपाली सेनाका लागि हेलिकप्टर प्रदान गर्ने समारोहमा सरिक हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली सेनालाई हेलिकप्टर प्रदान गरेपछि भारतीय प्रम मोदी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिने अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमसँग लगानी बोर्डले गर्न लागेको पिडिए सम्झौतामा व्यस्त हुनेछन् ।
गत साउनमा व्यक्त गरिएको प्रतिबद्धताअनुसार रु एक खर्बको सहयोग सम्झौता हस्ताक्षर गर्ने कार्यक्रममा पनि उनी सरिक हुनेछन् ।
सरकारले सोमबारमात्रै उक्त सहयोग सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको थियो । भारतको आयात–निर्यात (एक्जिम) बैंकमार्फत उक्त परिमाणको रकम प्राप्त हुन लागेको हो ।
त्यस्तै, काभ्रेको पनौतीमा स्थापना गरिने राष्ट्रिय प्रहरी प्रतिष्ठान आयोजना कार्यान्वयनका लागि भारत सरकारबाट करिब रु आठ अर्ब ७९ करोड अनुदान सहायतासम्बन्धी कार्यक्रम र युवा विकासका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री मोदी सहभागी हुनेछन् ।
नेपाल र भारतबीच परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्ने कार्यक्रममा समेत मोदी सहभागी हुने बताइएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले सहयोग सम्झौतामा हस्ताक्षर हुने जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराएका थिए