
लुम्बिनी, ९ मंसिर– श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा गरेका छन् ।
हेलिकप्टरबाट लुम्बिनीको बसपार्क नजिक रहेको हेलिप्याडमा अवतरण गरेपछि बाहिरी बाटो हुँदै ५ नं ढोकाबाट मायादेवी मन्दिर प्रवेश गरेका राष्ट्रपति राजापाक्षले झन्डै पाँच मिनेट मायादेवी मन्दिर र अशोक स्तम्भको दर्शन र अवलोकन गरेका थिए ।
उनले मायादेवी मन्दिर परिसरमा शान्ति दीपसमेत प्रज्ज्वलन गरे ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच राजापाक्षलाई नागरिक अभिनन्दनसहितको उपहार टक्र्याएका थिए ।
त्यसैगरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा श्यांबा शेर्पाले बुद्धको प्रतिमूर्ति र मायादेवीको चित्र अंकित थान्का पनि उनलाई प्रदान गरेका थिए । सो अवसरमा मन्त्री पौडेलले श्रीलंकाली राष्ट्रपतिको दोस्रो लुम्बिनी भ्रमणले लुम्बिनीको समग्र विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले राष्ट्रपति राजापाक्षको यस पटकको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध अझै प्रगाढ बनाउन सघाउ पुग्ने विश्वास प्रकट गर्दै यसबाट श्रीलंकामा पनि लुम्बिनीप्रतिको सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरे ।
रासस