काश्मिरमा कडा सुरक्षाबीच मतदान हुँदै

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ७:३५ मा प्रकाशित

 भारत, ९ मंसिर– भारत प्रशासित काश्मिरमा मंगलबार निर्वाचन सुरु भएको छ । मंगलबार बिहान ८ बजेबाट सुरु भएको सो निर्वाचनमा मतदात जारी रहेको छ । विगत लामो समयदेखि दर्जनभन्दा बढीको संख्यामा रहेका विभिन्न सशस्त्र हतियारधारी समूहद्वारा विद्रोह जारी रहेको सो क्षेत्रमा जारी रहेको विधानसभाको निर्वाचनमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

मुस्लिमको बाहुल्यता भएको प्राय: सधैंजसो विवादास्पद नै रही आएको सो क्षेत्रमा निर्वाचन सुरु भएको र त्यसमा भारतीय जनता पार्टीले नै जित हातपार्न सक्ने अपेक्षा गरिएको छ ।

भारतीय जनता पार्टी हिन्दुवादी दल हो । मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्रमा सो निर्वाचन जित्न नसक्ने कतिपयले बताइरहेका छन् भने कतिपयले भने सो दलले पहिलाको तुलनामा ठूलो प्रगति गर्नसक्ने बताएका छन् ।

उक्त क्षेत्रमा कम्तिमा पनि १० लाख नागरिक मतदाताका रुपमा वैध रहेका छन् । उनीहरुले मंगलबार बिहान आठ बजेदेखि नै पालो कुरेर मतदान थालेका बताइएको छ ।

सो क्षेत्रलाई भारत र पाकिस्तान दुवै पक्षले आ–आफ्नो दाबी गर्ने गरेका छन् । जसका कारण पनि विगतमा यी दुई देशबीच युद्ध भएको थियो । यी दुई देशको सीमा क्षेत्रबाट नजिक रहेको सो क्षेत्रमा १५ वटा निर्वाचन क्षेत्र छन् ।

सन् १९८९ देखि करिब एक दर्जन विद्रोही समूहले भारत प्रशासित सो क्षेत्रमा सशस्त्र विद्रोह गरिरहेका छन् । उनीहरुले काश्मिरको स्वतन्त्रताको माग गरिरहेका छन् । यसैगरी अरु केही संघसंस्था एवं विद्रोही समूहले भने सो क्षेत्रलाई पाकिस्तानसँग गाभ्न पनि माग गरिरेहका छन् ।

विद्रोह एवं हिंंसाका कारण त्यहााबाट हजारौँ व्यक्ति मारिएका छन् भने अरु लाखौँ विस्थापित भएका छन् । तर उनीहरुको मागका बारेमा भारत वा पाकिस्तान दुवै पक्षबाट कुनै ठोस निर्णय हुन सकिरहेको छैन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us