एजेन्सी– केन्याको सोमालियासँग सीमा जोडिएको क्षेत्रमा गुडिरहेको यात्रु बसमा हतियारधारीहरुको समूहले गरेको आक्रमणमा कम्तिमा २८ जना मारिएका छन् ।
अधिकारीहरुले घटनाका लागि संदिग्ध अल शबाब विद्रोहीहरुलाई जिम्मेवार ठानेका छन् ।
केन्याको आन्तरिक मामिला मन्त्रालयका अनुसार यात्रु लिएर राजधानी नैरोवीतर्फ आउँदै गरेको सो बस उत्तर पूर्र्वी दुर्गम मन्डेरा क्षेत्रबाट अपहरणमा परेको थियो ।
बसमा सवार गैरमुसलमान समुदायका यात्रुलाई छानीछानी गोली हानेर मारिएको बिबिसीले जनाएको छ ।
अपहरणकारीले पहिला मुस्लिम धर्मग्रन्थ कुरान बाचन गर्न लगाउने र नसक्नेलाई हत्या गरिएको उल्लेख गरिएको छ ।
सन् २०११ मा सोमालियामा केन्याली सेना पठाइएपछि अल शबाबले केन्यामा श्रृंखलाबद्ध बन्दुक र बम हमला गर्दै आएको छ ।
केन्याको आन्तरिक मामिला मन्त्रालयले आफ्नो ट्वीटरमा शनिबार बिहान आक्रमणमा परेको उक्त बसमा ६० जना यात्रु रहेको जनाएको छ ।