मोदीको छायाँ र निधिको तमासा

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते १०:५४ मा प्रकाशित

मिथिला नगरी जनकपुर अहिले चर्चाको केन्द्रमा छ । सार्क सम्मेलनको तयारी काठमाण्डुमा ‘फेसन शो’को स्तरमा चलिरहँदा मोदी भ्रमणको कम्पन भने जनकपुरमा महसुस भइरहेको छ । जनकपुरसहित मुक्तिनाथ र लुम्बिनीको धार्मिक भ्रमण गर्ने मोदीको चाहनालाई नेपाल सरकारले अनुमोदन गरेपछि यो कम्पन सुरु भएको थियो । केही दिन यता जनकपुरमा मोदीको स्वागतका निम्ति भइरहेको तयारी र कार्यक्रमको मोडेलबारे चलिरहेको मतभिन्नता समाचारमा चढेका थिए । बिहीबार एक्कासी कार्यक्रमको संयोजन गर्ने जिम्मा पाएका मन्त्री विमलेन्द्र निधिले मोदीको जनकपुर लगायत सबै धार्मिक भ्रमण रद्द भएको विज्ञप्ती जारी गरेपछि स्थितिले फरक मोड लियो ।

Yug Pathak
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चलाख खेलाडी हुन् भन्नेमा कुनै शंका छैन । त्यसमाथि उनलाई दक्षिण एसियाकै शक्तिशाली देशको ताज प्राप्त छ । उनलाई धेरैले अन्धहिन्दुवादका राजनीतिक सन्तान मान्छन् । अर्थात् राजनीतिमा धर्मको औजार प्रयोग गर्नमा उनी माहिर छन् । सार्क राष्टहरुको ‘बडे भैया’ बन्ने उनको चाहनाकै कारण उनी आफ्नो भ्रमणलाई अरुको भन्दा विशेष बनाउन चाहन्छन् । उनले धार्मिक भ्रमणमा रुची राख्नु त्यसैले स्वभाविक छ । ताज्जुबको चरित्र त हाम्रो सरकारले पो देखायो । सार्क सम्मेलनमा भारतसहित अन्य ६ देशका कार्यकारी प्रमुखहरु पनि नेपाल आउँदैछन् । तर सुशील कोइराला सरकारको हतारो, तयारी, अत्यास सबै मोदीको छायाँमा परेको चल्लोको जस्तो देखियो । यो हिनतावोध र चाकडीबोधको उत्कृष्ट नमूना बनेको छ ।
अर्कोतिर मन्त्री विमलेन्द्र निधिले देखाएको खुल्ला तमासा उल्लेख्य रह्यो । बिहीबार भारतीय दुतावासको हवाला दिएर निधीले मोदीको जनकपुर लगायत सबै धार्मिक भ्रमण रद्द भएको विज्ञप्ती प्रकाशित गरे । तत्कालै भारतीय दुतावासले यसबारे अनभिज्ञता मात्र प्रकट गरेन, राजदूत रञ्जित रेको अभिव्यक्तिबाट रोषका बाछिटा पनि उछिट्टिए । शुक्रबार हतारहतार गृहसचिव जनकपुर पुगे र मोदीको भ्रमण रद्द नभएको बताए । यहाँ नेपालको कुटनीतिक व्यवहार हास्यास्पद मात्र देखिएन, सरकारको लज्जास्पद चरित्रको पर्दाफास पनि भयो । यो प्रकरणमा शंका के उब्जिएको छ भने या त भारतीय पक्षको विरोधाभाषपूर्ण लकपकलाई नेपाल सरकारले लुरुलुरु मान्यो, या त सरकारको लकपकका कारण कुटनीतिक लज्जाको स्थिति पैदा भयो । दुवै स्थितिमा भारत बडे भैया देखियो र नेपाल लज्जाको भागिदार बन्यो ।
यस सन्दर्भमा जनकपुरको स्थानिय राजनीतिक दाउपेच पनि उल्लेख्य देखिन्छ । काँग्रेसको लामो विरासत धानेर बसेका विमलेन्द्र निधी जनकपुरका प्रभावशाली नेता हुन् र यसबखत त सरकारका मन्त्री पनि । उनैले सरकारका तर्फबाट मोदीको स्वागत गर्ने जिम्मेवारी पाएका थिए । उनले जानकी मन्दिर प्रांगणमा कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए । अर्कोतिर जनकपुरका अर्का प्रभावशाली नेता रामचन्द्र झाले प्रतिपक्षी २२ दलीय मोर्चाको नेतृत्व गर्दै यो तयारीमा प्रत्यक्ष चासो राख्दै आए । एमाओवादी नेता झाले चाहिँ जानकी मन्दिरको सानो प्रांगणबाट सारेर आम जनताको सहभागिता सहित १२ बिघा चौरमा कार्यक्रम आयोजना गर्नुपर्ने अडान लिए । केही दिनमै यो विवाद सरकार र प्रतिपक्षको राजनीतिक विवादकै स्तरमा मौलायो ।
विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा आयोजना हुने रामसीताको विवाह सम्बन्धि धार्मिक समारोहमा सहभागी हुन उसै पनि थुप्रै पर्यटक जनकपुर पुग्छन् । त्यसमाथि मोदी आउने समाचार सुनेपछि नेपाल र भारतका गाउँगाउँबाट मानिसहरु जनकपुर ओइरिने निश्चित छ । त्यसैले जानकी मन्दिरको प्रांगणमा कार्यक्रम आयोजना गर्ने मन्त्री निधीको तयारी व्यवहारिक थिएन । तर कुरा व्यवहारिकताको मात्रै होइन । प्रतिपक्षी गठबन्धन दक्षिण एसियामै व्याप्त मोदी.मेनियाबाट राजनीतिक फाइदा लिन चाहन्छ भन्ने आशंकाले निधीलाई अधैर्य बनाएको हुनसक्छ । एमाओवादी र मधेसवादी सम्मिलित २२ दलीय मोर्चाले पनि आम जनताको बीचमा मोदीलाई उभ्याउन १२ बिघा चौर त्यसै छानेका होइनन् । यसमा राजनीतिक अभिष्ट पक्कै छ । तर मन्त्री निधिले यसलाई फगत स्थानीय राजनीतिक दाउपेचका रुपमा मात्र बुझे । सरकारको मन्त्री र जनकपुरको तयारी प्रसंगमा कुटनीतिक रुपमा जिम्मेवार व्यक्ति हुनुको आफ्नै गरिमालाई उनले ‘सनक’मा बगाइदिए ।
अहिले जनकपुरको राजनीतिक रंगमञ्चमा निधीको पूँजी घटेको छ । उनको विरुद्ध जनकपुरमा नारा लाग्यो र फेरि बोली फेर्दै उनले मोदी भ्रमण रद्द नभएको अभिव्यक्ति दिनुपर्यो । यसप्रकार मन्त्री निधी गम्भिर गल्तीमा फँसिसकेका छन् । उनले या त भारतीय दुतावास र परराष्ट मन्त्रालयको गल्ती देखाउनुपर्यो, या आफ्नो गल्ती स्विकार गर्नुपर्यो । यो प्रसंग मन्त्री निधीको र सरकारको मात्र होइन, मुलुककै लज्जाको विषय बनेको छ । यदि मन्त्री निधीकै सनकमा यो ‘हो र होइन’को चटक देखाइएको हो भने उनले मन्त्री पदमा बसिरहन सुहाउँदैन । मन्त्री निधिले राजीनामा दिएर फेस सेभ गर्नु उपयुक्त हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us