काठमाण्डुका सडकमा जथावाभी रोपियो बिरुवा

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते २:३७ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– माइतिघरदेखि तीनकुनेसम्म लगाइएका बिरुवा रोप्ने कार्य एकातिर अव्यवस्थित छ भने अर्काेतिर गलत ठाउँमा लगाइएको वनस्पतिविज्ञहरुले बताएका छन् ।

वनस्पति वैज्ञानिक पुष्पमान अमात्यले राजधानी सजाउने नाममा सडकमा जथावाभी बिरुवा रोपिएको बताए । उनकाअनुसार सडकबीच र छेउमा लगाउने बिरुवा अध्ययन र योजना नबनाई लगाउँदा सडक दूर्घटना, टेलिफोनको तार, विद्युत् लाइन, ढल, पीचमा सबैभन्दा धेरै असर पर्नेछ ।

अहिले सडकमा लगाइएका बिरुवामध्ये केही धेरै अग्ला हुने र केही साना हुने जातका छन् ।  अग्लो हुने बिरुवाको जरा धेरै फैलिने भएकाले पीच र ढल बिगार्ने अमात्यले जानकारी दिए । त्यस्तै केही बिरुवाको काठ नरम हुने र कुनै कडा हुने प्रकृतिका छन् । नरम काठ हुने विरुवा ठूलो भएपछि ढल्ने र सडक दूर्घटना हुने उच्च सम्भावना हुन्छ ।

अमात्यका अनुसार धूपी र करवीरका बिरुवा लगाउनु राम्रो भए पनि ती दुई बिरुवाबीचको दूरी कम्तीमा तीन मिटर हुनु पर्नेमा एक मिटर पनि छाडिएको छैन । त्यस्तै मसलाको रुख कमलो हुने भएकाले ठूलो भएपछि हुरी आउँदा ढल्न सक्छ । समीको रुखको जरा कडा हुने भएकाले यसले हरियो दिने भए पनि सडकका लागि खतरनाक हुने विज्ञहरुको भनाइ छ ।

अभियान दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us