काठमाण्डु, २ मंसिर– धादिङ, गजुरी–१ की गीता मिजारले जेठमा एउटा गाई किनेर ल्याइन । गाई ब्याएपछि दूध बेचेर घरखर्च टारौंला भन्ने उनको इच्छामा तुषारापात भयो । गाई त ब्यायो तर दूध किनिदिने कोही भएन ।
२० हजार रुपैयाँ ऋण लिएर गाई किनेकी उनलाई कसैले दूध नकिनेपछि समस्या पर्यो । दूध बेचेर ब्याज तिरौंला, घरखर्च चलाउँला भन्ने उनको अठोट थियो । ‘दूध बेच्न गजुरी बजारको दूध संकलन केन्द्रमा गए, तिम्रो घरको दूध किनेपछि हाम्रा ग्राहक दूध किन्न आउँदैनन् भनेपछि मन अमिलो पार्दै घर फर्किए’, उनले भनिन, ‘डेरीको मान्छेले दलितको घरको दूध किन्दैनौं भनेर सिधै नभने पनि हाम्रो घरको दूध मिसाएको थाहा पाएमा ग्राहक घट्छन् भनेर नकिनेका हुन् ।’
गरिबी निवारण कोषको आयआर्जन कार्यक्रम सञ्चालन गरिरहेको स्थानीय गैरसरकारी संस्था फोकस नेपालद्वारा गठित उज्यालो सामुदायिक संस्थाबाट ऋण गरेर उनले गाई किनेकी हुन् ।
गीताले अहिले छिमेकी जानुका भण्डारीको गोठमा गाई बाँधेकी छन् । दूध पनि दिनहुँ जानुकाले नै दुहिदिन्छिन् । जानुकाकै भाञ्जीलाई दूध डेरीसम्म पुर्याउन लगाउने र त्यसबापत कापीकलम किन्न मासिक ४ सय रुपैयाँ दिने गरेको उनले बताइन् ।
सरकारले नेपाललाई छुवाछुत मुक्त मुलुक घोषणा गरी जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी ऐन लागू गरेको लामो समय भए पनि यसको प्रभाव देखिन सकेको छैन ।
अन्नपूर्णपोस्ट दैनिकबाट