काठमाण्डु, १ मंसिर – आदिवासी जनजाति र मधेसी बुद्धिजीवीले काँग्रेस–एमालेले सङ्घीयताको खाकालाई बहुमतले पारित गर्ने षड्यन्त्र गर्न लागेको भन्दै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
सो आन्दोलनका संयोजक पद्मरत्न तुलाधरद्वारा आइतबार जारी विज्ञप्तिमा आदिवासी जनजाति र मधेसी बुद्विजीवीको संयुक्त बैठकमा सर्वसम्मतिबाट सो निर्णय भएको उल्लेख छ । बहुमतका आडमा उनीहरुले ल्याएको सङ्घीयताको खाकालाई पारित गर्ने षडयन्त्र गरिएको भन्दै आदिवासी जनजाति र मधेसी समुदायको हक, अधिकारका लागि देशव्यापी आन्दोलन गर्ने सो विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा आदिवासी जनजाति र मधेसी बुद्धिजीवीका तर्फबाट गणेश मण्डल, मल्ल के सुन्दर, परशुराम तामाङ, सुरेश आले मगर, जय निशान्त, कपिलदेव मिश्र, रवि ठाकुर, सुनिलरञ्जन सिंह, सुरेन्द्र महतो, मोहनकुमार सिंह, विनयकुमार कुसियत, मङ्गलसिद्धि मानन्धर र सत्यनारायण साहले हस्ताक्षर गरेका छन् । रासस