‘विदेशीले सोध्दैछन्– विप्लवलाई के भएको हो ?’

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ८:२३ मा प्रकाशित

काठमाण्डु, १ मङ्सिर– आन्तरिक झमेला बेहोरिरहेको नेकपा–माओवादीका कार्यकर्ताहरुको संवाद फेसबुक र ट्वीटरमा सल्केको छ ।

Biplab 2
सचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा कपिलवस्तु भेलामा सहभागी हुनेहरुले संस्थापन पक्षविरुद्ध फेसबुकमा चर्को गाली सुरु गरेका छन् भने विप्लवसँग असहमत नेता–कार्यकर्ताहरुले ‘क्रान्ति गर्न कसैले नछेकेको’ भन्दै चुनौती दिएका छन् ।

सोमबार आफ्नो फेसबुक स्टाटसमा नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा विप्लवसँग असहमत नेता लेखनाथ न्यौपानेले विप्लवले हतारो गरेको टिप्पणी गरेका छन् । उनले जनयुद्धका उपलब्धीहरु गुमिसकेपछि हतारो गर्नभन्दा एकै ठाउँमा बसेर बहस गर्नु र निष्कर्ष निकाल्नु पर्ने उल्लेख गरेका छन् ।

अर्का केन्द्रीय सदस्य डा. ऋषिराज बरालले विदेशका भाइचार पार्टीहरुले ‘तेरो पार्टीमा के भएको हो प्रष्ट पार्न’ भनेर अनुरोध गरेको तर आफू आफै अलमलमा परेको ट्वीट गरेका छन् । ‘म आफै अलमलमा छु । के जवाफ दिनु ?’ बरालले लेखेका छन् ।

विप्लवको भेलामा सहभागी भएर फर्केका सक्रिय कार्यकर्ता सुदर्शन मंगोलले पनि फेसबुकमा किरण पक्षलाई संकेत गर्दै लेखेका छन्, ‘छद्म संशोधनवादीहरुको एउटा जत्थाले… क्रान्तिकारी पक्षलाई कार्वाही गर्ने कुरा गर्यो रे ! सुन्दा पनि हाँसो लागेर आयो ।’

उनले किरण पक्षका नेताहरुलाई ‘बुद्धनगरमा भुँडी हल्लाएर पार्टीको नाममा ब्याज खाने अवसरवादीहरु’ भनेका छन् ।

केन्द्रीय सदस्य बरालले अर्को ट्वीटमा ‘वैचारिक बहस र प्रश्नबाट आतंकित हुने’ले फरक मतवालालाई कसरी समेट्लान् भन्दै प्रश्न गरेका छन् ।

यता न्यौपानेले मंगोलले हतियारको चित्रसहित राखेको स्टाटसमा प्रतिक्रिया दिंदै ‘क्रान्ति गर्नलाई कसैले छेकेको छैन नि, गर्न सक्नेले गर्ने हो’ लेखेका छन् ।

संस्थापन पक्षले डाकेको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कपिलवस्तुमा गोप्य भेला गरेपछि नेकपा–माओवादीभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

माओवादीको केन्द्रीय समिति बैठकले सचिव विप्लव र उनीसँगै भेलामा सहभागी अन्य नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । विप्लव पक्षीय कार्यकर्ता भने फेसबुकबाट स्पष्टीकरण दिंदै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us