
इस्लमाबाद, ३० कात्तिक– पाकिस्तानी सैनिक प्रमुख जनरल राहील सरिफ आइतबार एक हप्ता लामो अमेरिका भ्रमणमा निस्केका छन् ।
भ्रमणको क्रममा उनले अमेरिकी वरिष्ठ सैनिक नेताहरुसँग सुरक्षा र प्रतिरक्षा मुद्दा सम्बन्धी वार्ता गर्ने पाकिस्तानी दूतावासले जानकारी दिएको छ ।
वार्ताको प्रमुख विषय अफगानिस्तानको सुरक्षामा केद्रित रहने पनि दूतावासले जनाएको छ । पाकिस्तानको भ्रमणमा रहेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानी सैनिक प्रमुखसँग भेटवार्ता गरेको दुई दिन पछाडी सरिफको अमेरिका भ्रमण सुरु भएको बताइएको छ ।
अफगान राष्ट्रपति घानीले गत शुक्रबारबाट पाकिस्तानको दुई दिने भ्रमण सुरु गरेका थिए । घानीको पाकिस्तान भ्रमणको अमेरिकाले स्वागत गरेको छ ।
जनरल राहीलले आफ्ना अमेरिकी समकक्षीसँग भेटवार्ता गर्नु हुने बताइएको छ । भेटवार्ता क्रममा द्वीपक्षीय सैनिक सहयोग आदानप्रदानका विषयमा वार्ता हुने अनुमान गरिएको छ ।
अमेरिकी सैनिक नेताहरुसँग पाकिस्तानी सैनिक प्रमुखले पाकिस्तानमा आतङ्कवादको प्रभावको विषयमा वार्ता गर्ने दूतावास स्रोतले जानकारी दिएको छ ।