
काठमाण्डु, ३० कात्तिक–सार्कको आगामी शिखर सम्मेलनमा सहभागी हुन आउने एक सदस्य राष्ट्रले भारतबाट ल्याइएका गाडी नचढ्ने भएको छ ।
सरकारले भारतसँग सहयोगस्वरुप गाडी ल्याएकामा कूटनीतिक रुपमा विरोध जनाउँदै पास्कितानी प्रतिनिधिमण्डलले आफू सवार रहने गाडी आफैं ल्याउन लागेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झैंं पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि आफू चढ्ने गाडी आफ्नै मुलुकबाट ल्याउने जानकारी दिइसकेको उच्च स्रोतले पुष्टि गरेको छ ।
अन्य अधिकारीका हकमा पनि केही गाडी इस्लामाबादबाट ल्याइने पाकिस्तानले जानकारी दिएको छ । भारतबाट ६ वटा बुलेटप्रुफ गाडी काठमाण्डु आइपुगेकै दिन शनिबार पाकिस्तानले पनि आफू चढ्ने गाडीको व्यवस्था आफैं ल्याउने टुंगो लागेको हो ।
परराष्ट्र प्रवक्ता खगनाथ अधिकारीले पनि भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले पनि आफू चढ्ने गाडीको व्यवस्था आफैं गर्ने हुनाले सहयोग गरिदिन आग्रह भएको हो । राष्ट्रप्रमुख आउँदा आफ्नै गाडी ल्याउने पूरानै चलन हो ।’
नेपाल सरकारसँग विदेशी राष्ट्रप्रमुखलाई चढाउने बुलेटप्रुफ गाडी नहुँदा यस्तो समस्या भएको हो । ‘सरकारले यहाँ रहेका दुई बुलेटप्रुफ गाडी मर्मत गरेर त्यसमा सवार गराउने भन्दै पाकिस्तानी पक्षलाई विस्वस्त तुल्याउन सकेको भए उनले गाडी ल्याउने थिएनन्’, एक अधिकारीले भने ।
श्रीलंका, अफगानिस्तान, बंगलादेश, भुटान र माल्दिभ्सले भने भारतीय सहयोगको गाडी नै उपयोग गर्नेछन् ।
कान्तिपुर दैनिकबाट